रवि लामिछाने पक्राउमा ‘मृत्युकालिक कथन’ बलियो प्रमाण

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार ०९:५१

साउन ३१, काठमाण्डौ – साउन २० गते पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । शुरुमा पुडासैनीको आत्महत्या भनिए पनि त्यसबारे प्रहरी सहित स्थानीय र आफन्तले आशंका गरे । प्रहरीले पनि अनुसन्धान जारी राख्यो।

साउन २४ गते प्रतिनिधिसभा बैठकमा फेरि यो विषयले प्रवेश पायो । शून्य समयमा बोल्ने सांसदहरुले पुडासैनीको आत्महत्याबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । २९ साउनमा त पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो नै सार्वजनिक भयो । यसपछि भने यो प्रकरण ब्यापक बन्यो ।

तर, त्यस अगाडि नै टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको थियो । २९ साउनमा सार्वजनिक भएको भिडियो प्रहरीले भने पहिले नै हात पारिसकेकाले अनुसन्धानले ठोस रुप नै लिइसकेको प्रहरी स्रोत बताउँछन् । सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ।

पुडासैनीले रेकर्ड गराएको भिडियोलाई प्रहरीले ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ मानेको छ । मृत्युकालिक कथनलाई प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्छ । “पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्डमा भनेको कुराहरू प्रमाणित हुन्छ ।

यो बलियो प्रमाण हो”, एक प्रहरी अधिकृतले भने । अहिलेसम्मको अनुसन्धानकै आधारमा लामिछानेसहित तीन जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामिछाने र कँडेललाई ‘न्यूज २४’ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो । हिमालखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*