हेटौडामा डेंगुको माहमारी, एकै सातामा ३० बिरामी

तामसालिङ खबर
१८ श्रावण २०७६, शनिबार ०९:०२

साउन १८, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा देखिएको डेंगु र स्क्रपटाइफसले माहमारीको रूप लिएको छ  । एक साता भित्रै ३० जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालय प्रमुख शशिकान्त सिंहका अनुसार हेटौंडा अस्पतालबाट रगत परीक्षणका लागि सिफारिस भएका १२ र निजी स्वास्थ्य संस्थाका १८ जनामा डेंगु देखिएको बताए ।

‘विभिन्न समयमा चुरे क्षेत्रमा डेंगु रोग देखिए पनि यसपटक हेटौंडा बजार क्षेत्रमै देखिएको छ,’ उनले भने, ‘हेटौंडामा डेंगु संक्रमण कमै देखिने गरेको भए पनि यसपटक माहमारीकै रूपमा लिएको छ ।’ सिंहका अनुसार अघिल्लो वर्ष पाँच जना मात्र डेंगु देखिएको थियो । तर, यस वर्ष डेंगुसँगै स्क्रपटाइपससमेत भेटिएको छ । ‘यो असाध्यै डरलाग्दो अवस्था हो,’ उनले भने ।

सिंहले जिल्ला स्वास्थ्यमा अधिकारीहरू अहिले पूर्णरूपमा स्थानीय तहमा गइसकेको अवस्थामा नियन्त्रणका लागि आफूहरूले सचेत रहन आग्रह गर्न र आवश्यक समन्वयको काम मात्र गर्न सक्ने बताए । ‘हामीसँग आवश्यक बजेट छैन । जिल्ला अस्पतालबाट आएको सिफारिसमा लक्षणको आधारमा मात्र हामीले डेंगुको परीक्षण गर्ने हो ।’ उनले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिका डेंगु संक्रमण क्षेत्रको रूपमा यसअघि नै पहिचान गरिसकेको बताए ।

‘हामीसँग तत्कालका लागि आवश्यक डेंगु परीक्षण किट छ  । तर, अब अभाव हुने सम्भावना देखिएपछि किट लिनका लागि काठमाडौं कर्मचारी पठाइसकेका छौं  । यस विषयमा हामीले माथिल्लो निकायलाई समेत आवश्यक जानकारी गराएका छौं,’ उनले भने, ‘हामीलाई किटको अभाव हुँदैन भन्ने आश्वासन आएको छ ।’ सिंहका अनुसार डेंगुको विशेषज्ञ उपचार नहुने र सरुवा रोग भएका कारण नियन्त्रणमा समस्या हुने बताए ।

हेटौंडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले नगर क्षेत्रमा डेंगुका बिरामी फेला परेपछि नियन्त्रणका लागि प्रयास थालि सकेको बताए । उनका अनुसार पहिलो चरणमा सचेतनाका लागि माइकिङ गरिसकेको बताउँदै लामखुट्टेको बासस्थान नष्ट गर्न सचेतना जगाउने, डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरी औषधि छर्ने काम अघि बढाइने तयारी भइरहेको बताए ।

‘हामी टोल विकास समितिलाई आफ्नो टोलमा रहेको खाल्डाखुल्डी, जथाभावी फालिएका टायर, पानीका बोतल पुर्न, एसी र गमलाको पानी फेर्न आग्रह गरेका छौं,’ उनले भने, ‘हेटौंडामा रहेको क्षेत्रीय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रसँगको समन्वयमा डेंगुको अवस्थाको अनुसन्धान र नियन्त्रण कार्य अगाडि बढाइसकेको छ ।’ (समाचार आजको कान्तिपुर दैनिकमा सुवास बिडारीले लेखेका छन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*