युरोपको अग्लो चुचुरोमा मिस नेपाल (भिडियो)

तामसालिङ खबर
९ श्रावण २०७६, बिहीबार १८:३२

साउन ९, हेटौडा – मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले नेपालको नाम विश्वसामु चिनाउने क्रममा अर्को साहासिक कार्य गरेकी छिन् ।

मिस वर्ल्डमा बिउटी उईथ अ पर्पस र मल्टिमिडिया अवार्ड जितेकी श्रृङ्खलाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेर नेपालको नाम उच्च पारेकी हुन् । उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन् ।

श्रृङ्खलाले उक्त हिमाल आरोहण गरेका विषयमा ईन्ष्टाग्राममा समेत तस्बिरहरु पोष्ट गरेकी छिन् । फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाले समेत उनले मन्ट ब्लांक आरोहण गरेको समाचार प्रकाशन गरेको छ ।

श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको शिखरमा पुगेकी हुन् ।

श्रृङ्खलासँगै भ्लगर सिसन बानियाँ र प्रज्वल थापा मगर पनि ब्लांक हिमालको चुचुरोमा पुगेका छन् । अप्रिल २० मा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ ।

दुई देशबीचको ७० औँ वर्षगाँठ कार्यक्रमकी सद्भावना दूत पनि रहेकी श्रृङ्खला अहिले युरोप यात्रामा छिन् । उनलाई युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेपाल आएका बेलामा २०७५ पुसमा सद्भावना दूत नियुक्त गरिएको थियो ।

हेर्नुहोस् भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*