तिन नम्बर प्रदेशको ४० प्रतिशत बजेट फ्रिज
साउन ९, हेटौंडा – तिन नम्बर प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को ४० प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले कुल बजेटको ६० दशमलव ६८ प्रतिशत खर्च मात्र भएको जनाएको छ ।
कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रहेकोमा २० अर्ब ६५ करोड ७२ लाख ३६ हजार ७ सय ९३ रुपैयाँ मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी धन प्रसाद शर्माले बताए । उनका अनुसार चालुतर्फ ८० दशमलव ६५ प्रतिशत र पूँजिगततर्फ ४७ दशमलव १३ प्रतिशत बजेट खर्च भएको हो ।
प्रदेश सरकार मातहतका निकायहरुले प्राप्त गरेको बजेटमध्ये सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले ८० दशमलव ३५ प्रतिशत अर्थात ६ अर्ब ३२ करोड ३२ लाख ३३ हजार २ सय ८ रुपैयाँ खर्च गरेको हो । प्राप्त बजेटमध्ये ६८ दशमलव ५३ प्रतिशत खर्च गरेर मुख्य न्यायाधिवक्ताको कार्यालय धेरै बजेट खर्च गर्नेमा दोस्रो भएको छ। कार्यालयले १ करोड ७१ लाख १ हजार रुपैयाँ खर्च गरेको हो ।
सबैभन्दा कम आन्तरिक मामिला तथा कानून मन्त्रालयले २८ करोड ३९ लाख ८२ हजार २ सय ४४ लाख रुपैयाँ खर्च गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव घनश्याम पन्थीले नयाँ संरचना र खर्च गर्ने निकाय स्थापनामा ढिलाई भएकाले पर्याप्त खर्च नभएको बताए । चालु आर्थिक वर्ष २०७६/७७ को लागि प्रदेश सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैंयाको बजेट पारित गरेको छ । अन्नपुर्ण पोस्टबाट