आँखाको ज्योती फर्केपछि पढ्न गए, रोशन थिङ
साउन ६, हेटौंडा – मनमा पढने तीव्र इच्छा भएका रोशन थिङ तर उनलाई आँखाले साथ दिएको थिएन । दुई साताअघि आँखाको शल्यक्रिया गरेपछि उनी फुर्तीसाथ असार २५ र २६ गते स्कुल गए ।
उनका साथी कोही ५ र कोही ६ कक्षामा पढ्न थालेका थिए तर उनी भने दुई कक्षामै थिए । शिक्षकले उनलाई असार २७ मा त्रैमासिक परीक्षा सुरु हने भन्दै साउनको ३ गतेदेखि पढ्न आउनु भनेर २ वटा किताब र एउटा कापी दिएर पठाएका थिए ।
दृष्टि फर्केपछि अहिले उनी त्यही किताब र कापी लिएर बस्छन् । छिमेकीहरू आए भने उनी सुरुमै हाँस्दै भन्छन्, ‘अब देख्ने भएँ, पढ्न जान्छु, सरहरूले स्कुल आउनु भन्नुभएको छ ।’ हेटौंडा सामुदायिक आँखा अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गरी असार १८ मा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले १३ वर्षीय रोशनका दुवै आँखाको पट्टी खोलेपछि मनको गहिराइबाट हाँस्दै उनले चिच्याएर भनेका थिए, ‘अब म आँखा देखेपछि पढ्न जान्छु ।’
उनले मनको धोको आँखाको शल्यक्रिया गरेको साता नबित्दै पूरा गरे । उनी गाउँकै महेन्द्र माविमा पढ्न गएका थिए । धेरै पढेपछि शिक्षक बन्ने उनको धोको छ । ‘धेरै पढेपछि मास्टर बनेर पढाउँछु,’ उनले भने ।
‘पढ्न भनेपछि हुरुक्कै हुन्छ,’ हजुरआमा माइलीमाया थिङले भनिन्, ‘अब राम्रैसँग पढ्छ होला जस्तो लाग्छ ।’ नातिले दुवै आँखा देख्न थालेपछि रोशन जति खुसी छन्, त्यति नै हर्षित छिन् हजुरआमा माइलीमाया ।
‘त्यसले आँखा देखेकामा मैले देखेको जस्तो लागेको छ,’ उनले नातितिर देखाउँदै भनिन्, ‘यसले आँखा नदेख्दा मलाई साह्रै गाह्रो भएको थियो, लड्ला, अँगेनामा पर्ला भन्ने सधैं डर थियो ।’ शल्यक्रिया गरेको २४ घण्टा बित्न नपाउँदै रोशनको आँखामा ज्योति फर्क्यो ।
आँखाबाट पट्टी खोल्नेबितिकै उनको खुसीको सीमा रहेन । नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले दुवै आँखाको पट्टी खोल्ने बितिक्कै चर्को आवाज आउने गरी हाँस्दै भने, ‘मैले सबैलाई देखेँ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।