चिनियाँ पर्यटक निजी सवारी सहित नेपाल भ्रमणमा
साउन ५ पोखरा – पोखरामा पछिल्लो समय चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गरिरहेको देखिन थालेका छन् । यसअघि भारतीय पर्यटक निजी सवारी लिएर पोखरा घुम्न आए पनि चिनियाँ पर्यटक भने पहिलो पटक निजी सवारी लिएर पोखरासम्म घुम्न आएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
चीनको हान्जाउँ सहरबाट चिनियाँ व्यवसायीको टोली रसुवा नाका हुँदै काठमाण्डौ, चितवन, लुम्बिनी हुँदै सुविधा सम्पन्न ७ वटा गाडीमा पोखरा आएका हुन् । पोखराको भ्रमण गरेर उनीहरु तनहुँको बन्दीपुर हुँदै रसुवा नाकाबाट चीन फर्कने योजना रहेको भ्रमणमा सहभागी स्याउसीले बताए ।
चिनियाँ पर्यटकलाई पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायी नरेश भट्टराई लगायतले पोखरामा स्वागत गरेका थिए। उनीहरुले नेपाल भ्रमण वर्ष २०२० को लोगो चिनियाँ पर्यटकलाई हस्तान्तरण गरेका थिए ।