लाेकसेवाकाे विज्ञापन खारेज गर्न माग गर्दै मसाल जुलुस

तामसालिङ खबर
३० असार २०७६, सोमबार ०९:५२

काठमाडौं – लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आइतबार काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ । ‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्द सहितको आन्दोलन अनुरुप काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्क स्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सोहि क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो । प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो । तर पनि मसाल जुलुस निकालेरै छोडेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए ।

आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका थिए । मसाल जुलुस कोण सभामा बोल्दै महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे ।

‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ,’ उनले भने । उनले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलन माथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे ।

‘असार ३१ गते माइतीघरमा विशाल जनप्रंदर्शन गर्दैछौ,’ बरामले भने, ‘आन्दोलनमाथि प्रहरीले दमन गरे झगडा मात्रै होइन विस्फोट हुन्छ ।’ महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*