शुकबहादुर तामाङको ‘जर्नी टु सिंहला’ ले जित्यो, भिडियो च्यालेन्ज अवार्ड
काठमाण्डौ – स्थानिय पर्यटनबारे चर्चा र चासो जगाउने हेतुले आयोजना गरिएको भिडियो च्यालेन्जमा ‘जर्नी टु सिंहला’ बर्षको सर्वोत्कृष्ट भिडियो बनेको छ ।
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामा सहभागी १ सय ३२ भिडियोलाई उछिन्दै सुकबहादुर तामाङ (राज) को निर्देशनमा बनेको ‘जर्नी टु सिंहला’ भिडियो सर्वोत्कृष्ट घोषित भएको छ । सोमबार काठमाण्डौमा बिशेष कार्यक्रमको आयोजना गर्दै सर्वोत्कृष्ट भिडियोहरुको घोषणा गरिएको हो ।
जम्बुलिङ फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको पाँच मिनेट लामो यो भिडियोले शीर्ष पाँच भिडियोलाई उछिन्दै उपाधी जितेको हो । भिडियो निर्माता तामाङले १ लाख नगद र २ लाख रुपैयाँको सिनेमा अध्ययन नेसनल फिल्म एकेडेमीको छात्रवृत्ति हात पारेका छन् ।
त्यसैगरी सामाजिक सञ्जालमार्फत सर्वाधिक दर्शकको भ्युज पाउनेमा कुमार भाष्करले बनाएको छटपूजाले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ । उक्त भिडियो निर्माताले पनि १ लाख नगद र २ लाखको सिनेमा अध्ययन छात्रवृत्ति उपाधि हात पारेका छन् ।
प्रतियोगितामा फ्युचर स्टार विधामा आर्यन कुँवरको मानुङ कोट, बेस्ट स्क्रिप्ट राइटरमा भीमलाल श्रेष्ठको मकै विवाह, वुमन भिडियो मेकर अफ द इयरमा देवकी विष्टको ट्युन अफ झाँक्री, मोस्ट पोटेन्सियल डेस्टिनेसनमा इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर, बेस्ट टेक्निकल सिनेम्याट्रो -ग्राफीमा दिनेश श्रेष्ठको रेड च्यारेट र मस्ट इनरजेटिक भिडियो मेकरमा विजय राईको सेतीदेवीले पुरस्कार हात पारे । सबै विधालाई नगद २५ हजार रुपैयाँसहितको पुरस्कार थियो ।
‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा वि विल राइज फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १ सय ३२ वटा भिडियो मध्येबाट ४७ वटा पुरस्कारका लागि मनोनयन गरेको थियो । कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लोक गायिका कोमल वली, अभिनेत्री करिष्मा मानन्धर लगायतको उपस्थिती थियो ।
फाउन्डेशनले पाँच मिनेटसम्मको भिडियो बनाउन जनवरी १ मा सार्वजनिक आहृवान गरेको थियो । यसको समयसीमा ३१ मे २०१९ सम्म रहेको थियो ।