कुलेखानी तेस्रोबाट एक महीना भित्रमा विद्युत् उत्पादन हुने
हेटौडा – मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीना भित्रमा विद्युत् उत्पादन हुने भएको छ । निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको स्रोतले बताएको छ ।
भैंसे स्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युत गृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको थियो ।
चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युत गृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन भई केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिए ।