नासाले शुक्रको उपग्रह टाइटनमा ड्रोन उडाउने
एजेन्सी – सौर्यमण्डलको आगामी आयोजना अन्तर्गत अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहको उपग्रह टाइटनमा ड्रोन उडाउने भएको छ । ड्रागनफ्लाइ नाम दिइएको उक्त मिसनले टाइटनमा जीवनको सम्भावना खोज्नेछ ।
उक्त मिसनका लागि सन् २०२६ मा ड्रागन रकेट पठाइने र २०३४ मा मात्र सो रकेट टाइटनमा ल्यान्ड गर्ने बताइएको छ । बरफिलो टाइटनमा वायुमण्डल भेटिएकाले उक्त उपग्रह पृथ्वीको प्रारम्भिक रूप हुनसक्ने वैज्ञानिकहरू बताउँछन् ।
सतहमा खोला, ताल र समुद्र भएको पृथ्वीपछि यो मात्र एउटा ग्रह-उपग्रह हो । तर त्यहाँ पानी नभई मिथेन र इथेन मात्र छ । नासाका प्रशासक जिम ब्रिडेनस्टाइन भन्छन्, ‘यस रहस्यमयी समुद्री उपग्रहबारे प्राप्त ज्ञानले हामीले जीवन कसरी पृथ्वीमा सम्भव भयो भन्न सक्छौँ ।’
केही वर्ष अघिसम्म ड्रागनफ्लाइ जस्तो रकेट पठाउने प्रविधि थिएन । तर अहिले यो सम्भव भइसकेको उनी बताउँछन् । नासाका अनुसार उक्त रकेटमा ठूलो ड्रोन जस्तै उड्न सक्छ । नासाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अढाइ वर्षभन्दा बढीको यो मिसनमा ड्रागनफ्लाइले जैविक पर्वत, पानी र कार्बनयुक्त खाडल लगायतका विविध वातावरणको अनुसन्धान गर्नेछ । यसले सायद लाखौं वर्षअघि जीवन हुनसक्ने देखाउँछ ।’
उक्त ड्रोनयुक्त रकेटले टाइटनको वायुमण्डल, सतह, समुद्र, खोला र तालको जैविक–रासायनिक अध्ययन गर्नेछ र जीवनको कुनै सम्भावना खोतल्नेछ । रकेट सांग्रिला पर्वतमा ल्यान्ड गर्ने, विभिन्न स्थानका नमूना संकलन गर्ने, सेल्क खाडल पुग्ने, सतहमुनिका समुद्रमा जाने लगायतका कार्यक्रम रहेको बताइएको छ।