मकवानपुरमा अब बर्डफ्लु मुक्त

तामसालिङ खबर
११ असार २०७६, बुधबार १०:४४

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई बर्डफ्लुमुक्त क्षेत्र घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ७ को नागस्वती र वरपरको क्षेत्रलाई बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको असार ९ गतेको मन्त्रिस्तरको निर्णयले हेटौँडा–७ नागस्वती क्षेत्रलाई बर्डफ्लु रोगमुक्त क्षेत्र घोषणा गरिएको पशु सेवा विभागले जनाएको छ ।

हेटौँडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फर्म र वरपरको कुखुरा फर्ममा पालेका कुखुराको नमुना जाँचपछि बर्डफ्लु रोगको सङ्क्रमण भएको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले गत फागुनको अन्तिम साता पुष्टि गरेपछि सो क्षेत्रलाई बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

बर्डफ्लु रोगका कारण हेटौँडा–७, ६ र १६ नम्बर वडाका विभिन्न स्थानमा गरी दुई लाख ८९ हजार कुखुरा मरेका थिए । तीमध्ये बर्डफ्लु सङ्क्रमण भएका ६८ हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु लागेका कुखुरा नष्ट गरेसँगै करिब साढे तीन महिनाको निरीक्षणपश्चात् मकवानपुरलाई बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको हो ।

मकवानपुर जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले मकवानपुरमा अब बर्डफ्लु रोग नभएको प्रमाणित भएको भन्दै कुखुरापालक किसानले खोर सरसफाइ गरेर कुखुरा पाल्न सक्ने जानकारी दिए ।

मकवानपुरका ५४ कुखुरापालक किसानको नष्ट गरिएको ६८ हजार कुखुराको चार करोड ४२ लाख ११ हजार ७४६ रुपियाँ क्षतिपूर्तिबापतको रकम सरकारले उपलब्ध गराएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*