‘सूइ आतंक र विमला हत्याको दोषीलाई कडा कारबाहीको माग’
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य नविना लामाले राजधानीमा सूइ आतंक र विमला तामाङको हत्याको सत्य तथ्य छानविन गरी कडा कारबाहीको माग गरेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकको सुन्य समयमा बोल्दै सांसद लामाले देशकै राजधानीमा महिलाहरु असुरक्षित हुँदै गएको बताउदै बौद्धको समता अस्पतालमा अस्पतालकै कर्मचारी विमला तामाङको मृत्युप्रकरण र महिलामाथि भएको सुई आतंकबारे गृहमन्त्रीको ध्यानकार्षण गराएका हुन् ।
बैठकमा सांसद् लामाले केही दिनअघि समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङको रहस्यमय मृत्युप्रकरणको छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने सभामुख तथा गृहमन्त्री समक्ष जोडदार माग गरिन् ।
उनले भने, ‘काठमाण्डौ बौद्धको कुमारीगालस्थित समता हस्पिटलका कर्मचारी तामाङको यही असार ३ गते अस्पताल परिसरभित्रै रहस्यमय मृत्यु भएको भनेर परिवारको दावी छ । यसमा छिटोभन्दा छिटो निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माननीय गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’
त्यस्तै सांसद लामाले आजभोली काठमाडौं उपत्यकामा अज्ञात समुहले महिलाहरुमाथि सुई प्रयोग गरेर आतंक फैलाउँदै हिडेका सुनिएको छ, यसले महिलाहरुमाथि सुरक्षाको गम्भीर चुनौति खडा भएको बताइन् । उनले भने, ‘सुई प्रकरणमा संलग्न सम्पूर्णलाई कानुनको दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’