नेपालसँगै भारतको २५ हलमा चलचित्र ‘आप्पा’ प्रदर्शन हुने

तामसालिङ खबर
८ असार २०७६, आईतवार १९:००

हेटौडा – एक छोरा र पिताको सम्बन्धको कथामा आधारित आर्गानिक स्टारडम बोकेको चलचित्र ‘आप्पा’ असार १३ गते शुक्रबारबाट देशभर संगै छिमेकी देश भारतको २५ वटा हलहरुमा समेत प्रदर्शनमा आउन लागेको छ । चलचित्रको निर्देशक अनमोल गुरुङले फिल्म नेपालसँगै भारतका मुख्य शहरमा समेत रिलिज हुने जानकारी दिए । भारतको २५ हलमा फिल्म प्रदर्शन हुने उनले बताए ।

धेरैपछि नेपाली फिल्म नेपालसँगै भारतमा पनि एकैदिन रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । ‘नेपाली फिल्मको विदेशमा च्यारिटी शोजहरु प्रायः भइरहेका हुन्छन् तर एकसाथ हलमा रिलिज भने निकै कम हुने गर्छन् । ‘आप्पा’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने फिल्ममा परेको उनले भने ।’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङलगायतका शहरमा फिल्म प्रदर्शन हुने निर्देशक गुरुङले बताए ।

यस्तै, टाइटल क्यारेक्टरमा रहेका अभिनेता दयाहाङ राईले फिल्ममा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा रहेको बताए । उनी भन्छन्, ‘फिल्ममा मैले बिर्खे नाम गरेको एक ड्राइभरको भूमिका निभाएको छु । त्यही ड्राइभरको वरिपरि नै फिल्मको मूल कथा घुमेको छ ।’ दर्शकलाई एकपटक हलसम्म पुगेर फिल्म हेरिदिन उनको आग्रह छ ।

एउटा ड्राइभरले गाडी चलाउँदा के-के भोग्नु पर्छ भन्ने मार्मिक कथा फिल्मले उठान गरेको दयाहाङ बताउँछन् । माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।

‘आप्पा’ मा दयाहाङका संगै सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

ट्रेलर हेर्नुहोस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*