विद्युत चोरी गर्ने २३४ व्यक्तिलाई २८ लाख ८९ हजार जरिवाना

तामसालिङ खबर
८ असार २०७६, आईतवार १५:४६

चितवन – नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्रको कार्यालय टाँडीले चालु आर्थिक वर्षको १ वर्षको अवधिमा अवैध रुपमा विद्युत चोरी गर्ने २३४ व्यक्तिलाई कारबाही गरी २८ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ जरिवाना गरेको छ ।

कारबाहीमा परेका व्यक्तिहरुले १ लाख ५१ हजार ५ सय ८७ युनिट विद्युत चुहावट समेत गरेको थिए । साथै कार्यालयले बन्द भएको, बिग्रेको र मिटरमा समस्या देखिएका ७८८ ग्राहकको विद्युत मिटर परिवर्तन गरी त्यस अवस्थामा बक्यौता रहेको २० लाख ३६ हजार रुपैयाँ राजश्व समेत संकलन गरेको कार्यालय प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए ।

कार्यालयका अनुसार लामो समयदेखि बक्यौता रहेका ६०५ ग्राहकको लाइन कटेर १ करोड ६६ लाख ३२ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, ब्लाकलिस्टमा परेका १३ ग्राहकबाट ६ लाख ३१ हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ ।

कार्यालयबाट प्राप्त विवरण अनुसार कारबाहीमा परेका ५१५ ग्राहकले बक्यौता तिर्दा २ करोड ४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सो वितरण केन्द्र अन्तर्गत ५६ हजार ९५७ विद्युत मिटर जडान गर्ने ग्राहक रहेको सो कार्यालयले मासिक ६ करोड रुपैयाँ विद्युत शुल्क वापत राजश्व संकलन गर्ने गरेको छ ।

अवैध रुपमा विद्युत चोरी तथा हुकिङ हुन नदिनेतर्फ सो कार्यालयले अनुगमन तिब्र पारेको कार्यालय प्रमुख श्रीवास्तवको भनाई छ । जसको कारण कानूनी रुपमा विद्युत चोरीको कार्य बन्द गरी त्यहाँका आम नागरिकहरु विद्युत मिटर जडान गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ५ सय घर परिवारले विद्युत मिटर जडान गरेको बताइएको छ । यसैबीच सो केन्द्रले आर्थिक रुपमा गरिब, विपन्न तथा सुकुम्बासी तर्फका १७२ जनालाई निशुल्क विद्युत मिटर वितरण गरेको छ । नेपाल सरकारको उज्यालो कार्यक्रम अन्तर्गत सो विद्युत मिटर निशुल्क वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*