लोक सांगीतिक रियालिटी सो ‘नेपाल लोकस्टार’ असार १२ गते देखि प्रशारण हुने
काठमाडौं – एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको लोक सांगीतिक गायनको रियालिटी सो ‘नेपाल लोकस्टार’को असार १२ गतेबाट प्रशारण हुने भएको छ ।
देशको विभिन्न स्थानबाट लिएको अडिसनबाट ३ सय ६३ जना प्रतिस्पर्धी मेगा अडिसनका लागि छनोट भएका थिए भने मेगा अडिसनबाट ९० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । यिनै प्रतियोगी पहिलो लोकस्टारको उपाधिका लागि भिडन्त हुने कार्यक्रम संयाेजक सहदेव काेइरालाले बताए ।
लोकसंगीतको विकास र प्रबर्द्धनमा लागेको चाहना मिडियाले कार्यक्रमको आयोजना गरेको हो । ३० वटा शृंखलामा प्रसारण हुने कार्यक्रममा एकतीसौँ शृंखला अन्तिम हुनेछ । प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ट ५० सम्म निर्णायकको हातमा रहनेछ । उत्कृष्ट ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा आधारित रहने आयोजक संस्थाले जनाएको छ ।
३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा आधारित हुनेछ । उत्कृष्ट २० बाट १० सम्म ५० प्रतिशत निर्णायक र ५० दर्शकको भोटिङमा आधारित हुनेछ । उत्कृष्ट १० बाट फाइनलसम्म दर्शकको भोटको आधारमा लोकस्टारको छनोट हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन् ।