कर्मचारी तलब २० प्रतिशतले बढ्यो, कुन पदमा कति पुग्यो ?
काठमाण्डौ – सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।
सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ । सरकारले कर्मचारीको महँगी र पोसाक भत्ता यथावत् राखेको छ। बढेको तलब राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षकलगायतमा लागू हुने अर्थमन्त्री डा. खतिवडाले जनाएका हुन्।
नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब बृद्धिको घोषणा भएको हो । अब सबैभन्दा तल्लो तहका पियनले न्यूनतम २२ हजार ८ र माथिल्लो तहका मुख्यसचिवले ६५ हजार १३६ रकम पाउनेछन् ।
तलब बढेसँगै कार्यालय सहयोगीको १७ हजार ७ सय १० बाट २२ हजार १ सय ३७, खरिदारको १७ हजार ७ सय ३० बाट २२ हजार १ सय ६२, नायब सुब्बाको १८ हजार ८ सयबाट २३ हजार ५ सय, अधिकृतको २४ हजार ४ सयबाट ३० हजार ५ सय, उपसचिवको २७ हजार ३ सय ७० बाट ३४ हजार २ सय १२, सहसचिवको ३२ हजार १ सय १० बाट ४० हजार १ सय ३७ रुपैयाँ पुगेको थियो।
त्यस्तै सचिवको ४१ हजार १ सय ३० बाट ५१ हजार ४ सय १२, मुख्य सचिवको ४३ हजार ६ सय ७० बाट ५४ हजार ५ सय, राष्ट्रपतिको १ लाख २० हजार ३ सय ६० बाट १ लाख ५० हजार ४ सय ५०, उपराष्ट्रपतिको ४६ हजार ४ सय २० बाट १ लाख ८ हजार २५ रुपैयाँ पुगेको थियो।
सरकारी तलब भत्ता खाने राष्ट्रसेवक कर्मचारीको तलबसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, सांसद, मन्त्री र राज्यमन्त्रीको पनि तलब वृद्धि भएको छ ।
यो वर्ष तलब बढाउन सरकारी कर्मचारीले सरकारमाथि दबाव सिर्जना गरेका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पनि कर्मचारीको तलब २५ प्रतिशतले बढाएको थियो । आव २०७४/७५ मा तलब बढेन । चालु आर्थिक वर्ष २०७५/७६ मा पोशाक भत्ता र अन्य केही भत्ता बढाइएको थियो ।