सिक्किमको छैठौं मुख्यमन्त्री प्रेमसिंह तामाङ बने, को हुन प्रेम सिं तामाङ ?
काठमाडौं – प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले सोमबार बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् ।
सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइ दिएका थिए। गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधान सभा सिटमध्ये १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो ।
भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्य मन्त्री बन्न पाउने व्यवस्था छ । त्यस्तो व्यक्ति ६ महिना भित्र विधानसभा सदस्य भइसक्नु पर्छ । अब प्रेमसिंह गोलेले कुनै एउटा सांसदलाई राजीनामा दिन लगाउने छन् र सो निर्वाचन क्षेत्रमा आफू चुनाव लडेर निर्वाचित हुनेछन् । पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर प्रेमसिंहले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए ।
उनी चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल परेका थिए । भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले भने उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ। पवन चाम्लिङको २५ वर्ष लामो शासनलाई अन्त्य गर्दै प्रेम सिंह तामाङ(गोले) सिक्किमको मूख्यमन्त्री बनेका हुन् ।
को हुन प्रेम सिहं तामाङ ?
चाम्लिङको सत्ता उल्टाइदिने गोलेको राजनीतिक यात्रा चाम्लिङसँगै सुरू भएको थियो। चाम्लिङले सन् १९९३मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन्। त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए। सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने।
उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए। त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे। सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे। त्यस पछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे। यसपालीको निर्वाचनमा पार्टीले गोलेलाई मूख्यमन्त्रीका रूपमा घोषणा गर्यो।
पार्टीले घोषणा गरेपनि उनले विधानसभा चुनाव भने लडेनन्। यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडी बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए। परिवर्तन र ‘२५वर्षे राजाको शासनको अन्त्य’ उन को प्रमूख चुनावी नारा थियो। ‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन। मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे।