लोकतन्त्रमा साना ठुला मिडिया समान बाँच्न पाउनु पर्छ – संचारमन्त्री बाँस्कोटा
बनेपा – काभ्रेबाट प्रकाशित डाँडापारी संदेश साप्ताहिकको दोस्रो बार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी न्यायले ठूला-साना कसैलाई भेदभाव नराख्ने बताएका छन् ।
शनिबार बनेपामा आयोजित डाँडापारी सन्देश साप्ताहिकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रमा ठूला र साना मिडिया सँग-सँगै बाँच्न पाउनुपर्ने बताए ।
मन्त्री बाँस्कोटाले जनआन्दोलन २०६२/६३ मुख्य उद्देश्य समाजवाद निर्माण गर्ने लक्ष्य भएको बताउँदै समाजवादी राज्यको विशेषता तल्लो वर्गलाई पनि बाँच्न पाउने अधिकार दिनु, बोल्न, लेख्न पाउने र श्रमको मूल्य पाउने अधिकार रहेको बताए । उनले भने, ‘समाजवादी न्याय अन्तर्गत समानुपातिक विज्ञापन दिने भयो भनेर एकलौटी अथवा आम्दानीको ठूलो हिस्सा आफूमा केन्द्रीत गर्नेको मन यतिबेला पोलेको हुनुपर्छ ।’
मन्त्री बास्कोटा कतिपय मिडिया मालिक श्रमजीवीलाई पारिश्रमिकको व्यवस्था गर्नुपर्छ र अकूत कमाइरहेको ठाउँमा रोक लाग्ला भन्दै आक्रमणमा उत्रिनसक्ने बताए । ‘मिडिया विधेयकमा लेखेकै आधारमा कोही कसैमाथि मुख थुन्ने, कलम थुत्ने गर्दैनौ, हामीलाई हाम्रो संविधानले त्यस्तो अधिकार दिएको छैन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्यद्वय रत्न ढकाल र चन्द्र लामा, नेकपाका नेता सूर्यमान दोङ, इन्द्रबहादर तामाङ, शेखर लामा, प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, पत्रकार महासङ् प्रदेश सचिव यदुनाथ गौतम, पत्रकार महासङको जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।