वैदेशिक रोजगारीबाट फर्केका १८ हजार युवा उद्यमी बन्न आकाङ्क्षी
काठमाडौँ – वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवा सहुलियत कर्जा लिएर उद्यमी बन्न आकाङ्क्षी देखिएका छन् । सहुलियत कर्जा लिन वैदेशिक रोजगार बोर्डमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी युवाले उद्योग/व्यवसाय गरी स्वरोजगार हुन चाहेका छन् ।
बोर्डले सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवालाई सूचीकृत गरेको छ । आवेदन दिएकामध्ये चार हजार ७४७ युवाले कुनै न कुनै प्रकारको उद्योगधन्दा स्थापना गरी स्वरोजगार बन्ने र रोजगारीका अवसर सिर्जना गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनीहरुले उद्योग व्यवसाय अन्तर्गत मोटरसाइकल, गाडी मर्मत वर्कशप, फेन्सी/ किराना/ इलेक्ट्रिक/हार्डवेयर/ फलफूल/मदिरा/ प्लाष्टिक पसल, जुत्ता/ चप्पल कारखाना, आल्मुनियम/ग्रील कारखाना, प्रेस सञ्चालन, होटल व्यवसाय, हेल्थ केयर सेन्टर, दुग्धजन्य उत्पादनको व्यापार, राईस मिल स्थापना गरी स्वरोजगार बन्ने आकाङ्क्षा देखाएका छन् ।
बोतल तथा जार उत्पादन, हस्तकला व्यवसाय, निर्माण व्यवसाय, सेनेटरी प्याड उत्पादन, इँटाभट्टा सञ्चालन, ब्लक उद्योग, पशु क्लिनिक, फोहर व्यवस्थापन, अगरबत्ती उत्पादन, मिडिया हाउस, गलैँचा उत्पादनमा पनि युवाको आकर्षण देखिएको छ ।
त्यसैगरी तीन हजार ७११ जनाले यातायात व्यवसायमार्फत स्वरोजगार हुन चाहेको प्रस्तावित व्यावसायिक योजनामा उल्लेख गरेका छन् । यसअन्तर्गत ट्याक्सी, ट्रिपर, बस, जीप, अटो र पर्यटक बस सञ्चालन आदि जस्ता योजना प्रस्ताव गरेका छन् ।
पशुपालन तथा कृषिजन्य उत्पादनका लागि पनि युवाको आकर्षण देखिएको छ । दुई हजार ६३७ युवाले कुखुरा, माछा, गाई, चौरी, भैँसी, बाख्रा, बङ्गुर, सङ्गुर, मौरी, टर्की कुखुरा, बट्टाइँ चरा, हाँस आदि जस्ता पशुपालन गर्न सहुलियत कर्जा माग गरेको छन् ।
चिया, कफी, स्याउ, सुन्तला, अलँैची, किबी, कागती, गोलभेँडा, च्याउ, स्ट्राबेरी, तरकारी, ऊखु, केरा आदि जस्ता कृषि व्यवसायमा लागेर स्वरोजगार हुन चाहने युवाको सङ्ख्या दुई हजार २९ रहेको छ । रासस