क्षतिपुर्तिको माग गर्दै युनिलिभरविरुद्ध मजदुर आन्दोलित

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार १०:३३

हेटौंडा – युनिलिभरले एक्कासी सम्झौता भंग गरेपछि गत चैत्रबाट बन्दभएको गंगा सोप र युनिक सोपका मजदुहरुले आफुहरुको युनिलिभरमा पुर्नवाहाली हुनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मंगलबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले काम गर्दै आएको कम्पनी एक्कासी बन्द हुँदा हाफुहरुलाई निकै समस्या भएको बताए ।

युनिलिभरको यस्तो कदमले स्थानीय उद्योगी र मजदुर आक्रोशित छन् । तत्कालीन एमाले, माओवादी केन्द्र र कांग्रेस निकट मजदुर संगठनका प्रतिनिधि आबद्ध ट्रेड युनियन समन्वय केन्द्रले युनिलिभरको मुख्य प्रवेशद्वारमा तीन सूत्रीय माग राखेर धर्ना दिने भएको छ ।

बन्द गरिएका सहायक उद्योग पुनःसञ्चालन गर्नुपर्ने, उद्योग बन्द गरेर अवकाश दिइएका मजदुरहरूलाई युनिलिभरमा रोजगारी दिनुपर्ने र एकतर्फी ढंगले उद्योग बन्द गरेकाले मजदुरहरूलाई उचित क्षतिपूर्तिको माग दोहोर्‍याएको छ । केन्द्रले जेठ १३ गतेदेखि धर्ना तय गरेको संयोजक गंगाप्रसाद भट्टराईले बताए ।

पटकपटक वार्ता गर्न खोज्दा पनि युनिलिभरका व्यवस्थापक उपस्थित नभएकाले बाध्य भएर धर्नामा उत्रनुपरेको भट्टराईले भने । पत्रकार सम्मेलनमा युनिलिभरले बन्द गरेका सहायक उद्योगका सञ्चालक पनि उपस्थित थिए । उद्योग सञ्चालक इन्द्रबहादुर बानियाँले वहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपाली उद्योग धराशायी बनाई मजदुरहरूलाई रोजगारविहीन बनाउन खोजेको आरोप लगाए ।

उनले हेटौंडा औद्योगिक क्षेत्रमा युनिलिभरको सहायक उद्योग गंगा सोप इन्डस्ट्रिज सञ्चालन गर्दै आएका थिए । उक्त उद्योगलाई युनिलिभरले एक महिनाअघि एकतर्फी ढंगले बन्द गरेको थियो । उद्योग र मजदुरहरूले क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।

युनिलिभरका हेटौंडामा तीनवटा सहायक उद्योग छन् । तीमध्ये २ वटा उद्योग बन्द गरिसकेको छ । उद्योगी र मजदुरहरूलाई क्षतिपूर्तिलगायत दिनुपर्ने रकम उपलब्ध गराएको छैन । हेटौंडा औद्योगिक क्षेत्रमै रहेको युनिलिभरको अर्को सहायक उद्योग युनिक सोप एन्ड केमिलक इन्डस्ट्रिज ८ महिनाअघि नै बन्द भइसकेको छ ।

गंगा सोपका सञ्चालक तथा प्रदेश नंबर ३ प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले युनिलिभरले एक्कासी सम्झौता भंग गरेर श्रमिकलाई बेघरबार बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले युनिलिभरले एकलौटी ढंगबाट सम्झौता तोडनु गलत रहेको बताए । आफुहरुले उक्त उद्योगलाई पुन खोल्ने गरि छलफलमा रहेको भन्दै उनले औद्योगिक क्षेत्रमा भएको सम्पूर्ण समस्यालाई समधान गर्नको लागि आफुहरु लागिपरेका बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*