विप्लव समूहसँग प्रहरीको दोहोरो भिडन्त

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार ०७:०३

भोजपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

हतियारधारी समूह र प्रहरीबीच दोहोरो मुठभेड हुँदा विप्लव समूहका कार्यकर्ता षडानन्द नगरपालिका–२ कुदाक काउलेका तिर्थराज घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । उनको साथमा हतियारसमेत फेला परेको प्रहरीको भनाइ छ ।

मंगलबार दिउसो करिब सवा १ बजेतिर टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित धोद्रे जङ्गलमा विप्लवका हतियारधारी लडाकु समूहसँग प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भिडन्तस्थलमा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले दावी गरेका छन् । दर्जनौंको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको पनि उनको भनाइ छ । अन्नपूर्ण पाेस्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*