कम्युनिष्ट सरकार खोक्रो आश्वासन र उखानटुक्का मै व्यस्त – नेता केसी
हेटौडा – कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा सोमबार थाहानगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियानमा बोल्दै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको ईतिहासमा धेरै ठूला र महत्वपूर्ण परिवर्तन गरेको भएपनि दुईतिहाईको कम्युनिष्ट सरकार गठन भएको १५ महिना बितिसक्दापनि प्रधानमन्त्री मात्रै हैन मन्त्रीहरुसमेत अझै देखिने काम गर्न छाडेर खोक्रो आस्वाशन र उखानटुक्का मात्रै बाढिरहेको बताउनुभयो ।
ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता केसीले यसैगरी एकपछि अर्को निरंकुशता लाद्न खोजे कांग्रेसले अब चौथो ठूलो आन्दोलनको तयारीमा लाग्नुपर्ने अवस्था आएकोले कार्यकर्तालाई तयार रहन आग्रह गर्नुभयो ।
कांग्रेसले नेपाल र नेपालीलाई आधुनिकरणमा ढाल्न सफल भएको बताउँदै केन्द्रीय सदस्य केसीले यसको बारेमा जागरण अभियानमार्फत गाउँ, वडा र टोल/टोलमा गएर आम जनतामा जान आग्रह गर्नुभयो ।
कांग्रेस जिल्ला सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरु झुटा आश्वासनको पोका लिएर जनमत बटुल्न सफल भई सरकारमा गएपनि अहिले बजेटको चरम दुरुपयोग गरि जनतालाई पंगु बनाउनुबाहेक अरु सिन्कोसमेत भाँच्न नसकेको बताउनुभयो ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा जागरण अभियान कार्यक्रम भएको हो ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगर समितिको संयुक्त आयोजनामा थाहा नगरको पालुङमा भएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा, राप्रपालगायत पार्टी परित्याँग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जागरण अभियानमा जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सल्लाहकारहरु, हेटौंडा उपमहानगर, थाहा नगरका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय तथा गाउँपालिकाहरुका पदाधिकारी, सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं पदाधिकारी, सदस्यहरु तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियोे ।