बेलायतमा मे २६ देखि हुने ‘गोर्खा कप’ को तयारी पूरा

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार १८:०९

लन्डन – बेलायतमा लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको आयोजक समेत रहेका तमुधिं यूकेले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । २६ मे आइतबारका दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मुख्य र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगितामा भाग लिनका लागि यसपटक भने हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत नेपाल फुटबल टिम आउने भएको छ । सन् २००३ साल देखि प्रत्येक बर्ष संचालन गर्दै आएको गोर्खा कपको निकै लोकप्रियता रहेको छ ।

करिब ४५ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य खेलतर्फ प्रथम हुने टिमले २५ सय पाउण्ड नगद, दोस्रोले १५ सय पाउण्ड ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेट्रानतर्फ प्रथम हुनेलाई १२ सय पाउण्ड र दोस्रो हुनेलाई ८०० पाउण्ड, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । टप स्कोरर र वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था गरिएको आयोजक तमुधिं युकेका खेलकुद सचिव एवं प्रतियोगिता संयोजक क्याप्टेन पिताम्बर गुरुङले जानकारी गराए ।

उनले इभेन्टमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी गराउदै ५० वटा सेक्युरिटटी अफिसर, ३० जना ट्राफिक मार्शल र २० जना स्वयंसेवक गरी करिब १०० जना सुरक्षाका लागि आन्तरिक व्यवस्था गरिएको छ भने स्थानीय प्रहरीले समेत बिशेष निगरानी राख्ने जानकारी दिए । त्यस्तै, आपतकालिन अवस्थाका लागि हेलिप्याड, मेडिकल समूह, फायर सेफ्टी ग्रुप र इमेरजेन्सी द्वारको समेत व्यवस्था मिलाईएको जनाए ।

करिब ७ हजार देखि १० हजार दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको सो प्रतियोगितामा करीब २००० कार आउन सक्ने र ती कारको पार्किङ्गको व्यवस्था मिलाइएको जनाए ।

साथै, मौसम खराब भएको अवस्थामा वैकल्पिक कार पार्कको समेत व्यवस्था मिलाइएको बताए । त्यस्तै, १० वटा रेष्टुरेण्ट, ४० वटा हस्तकला तथा व्यापारीक स्टल र केही स्वयंसेवक स्टलहरु रहने छन् ।

पत्रकार सम्मेलनमा तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूह लगायत सल्लाहकार, शुभचिन्तक र कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*