कैलाश गाउँपालिका स्तरीय प्रथम भलिबल प्रतियोगिता
हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकामा गाउपालिका स्तरीय भलिबल प्रतियोगिता आइतबारबाट शुरु भएको छ । कैलाश खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको प्रायोजनामा भएको प्रतियोगितामा गाउँपालिका भित्र रहेको १२ वटा समूहको सहभागिता रहेको छ ।
कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले प्रतियोगिताको उद्घाटन् गर्नु हुदै बेला बखत आयोजना भईरहने खेलकुद प्रतियोगिताले मानिसको स्वास्थ्य मात्र राम्रो नभई सकरात्मक सोंचको समेत विकास हुने बताए ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कैलाश खेलकुद विकास समिति संयोजक छेकु लामाले गाउँपालिकामा पहिलो पटक प्रतियोगिताको आयोजना गरेको भन्दै आउने वर्षहरुबाट प्रतियोगितालाई अझै व्यवस्थित र धेरै भन्दा धेरै खेलहरु समावेश गरिने बताए ।
प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र, द्धितिय हुनेले ३० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र र तृतिय हुनेले १५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कैलाश खेलकुद विकास समिति संयोजक छेकु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ, वडा नम्बर १ का वडा अध्यक्ष पेमा लामा, वडा नम्बर २ अध्यक्ष राजेन्द्र घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।