यी वडाध्यक्ष, जसले मोटरसाइकल लिएनन्
मनहरी – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सिंगलाल चेपाङले गाउँपालिकाले उपलब्ध गराएको सरकारी मोटरसाइकल अस्वीकार गरेका छन् । गाउँपालिकाले वडाको काममा सजिलो होस् भनेर ९ वटै वडाका अध्यक्षहरुलाई मोटरसाइकल उपलब्ध गराएको हो ।
केही समयअघि उपलब्ध गराइएको मोटरसाइकल आफूले अस्वीकार गरेको वडाध्यक्ष सिंगलालले बताए । ‘आफ्नै स्वामित्वको मोटरसाइकल रहेकाले सरकारी मोटरसाइकल आवश्यक ठानिनँ’, वडाध्यक्ष सिंगलालले भने ।
चुनावका बेला जनताको सेवा गर्ने भनेर कसम खाएर आएको सम्झँदै सिंगलालले भने–‘अहिले पनि जनताले एम्बुलेन्सको सुविधा पाउन सकेका छैनन्, जनप्रतिनिधिहरु मात्रै सेतो नम्बरप्लेटमा हिँडेको त्यति सुहाउँदैन ।’ @मनहरी डटकम