लुम्बिनी भ्रमण बर्षको कार्यक्रम कार्यान्वयन नहुँदै संशोधन
रुपन्देही – पाँच नम्बर प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षका लागि तयार गरिएका कार्यक्रमहरु हचुवाको भरमा राखेको पाइएको छ । प्रयाप्त छलफल नगरी कार्यक्रम बनाएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले केही कार्यक्रमहरु कार्यान्वयनमा नआउँदै संसोधन हुने भएका छन् ।
भ्रमण बर्षको अवसरमा प्रदेश सरकारले मायादेवी प्रसुती मार्ग घोषणा गर्ने कार्यक्रम तय गरेको थियो । तर उक्त कार्यक्रम कार्यान्वयनमा नआउँदै संशोधन भएको छ ।
लुम्बिनी–तिलौराकोट खण्डलाई प्रसूति मार्ग घोषणा गर्ने कार्यक्रम मन्त्रालयले गरेको थियो तर यथोचित प्रमाण नभएपछि उक्त कार्यक्रम संसोधन गरिएको मन्त्रालयले बताएको छ । “हामीले कार्यक्रमहरु राख्यौ, तर पछि सवै विवरण एकिङ नभएपछि हामीले यसलाई परिवर्तन गरेको हौ” लुम्बिनी भ्रमण बर्ष २०७६ सचिबालयका संयोजक लोकनाथ सापकोटाले भने ।
उनले पुरातात्व विभाग संग छलफल गरेर मात्र पुन अर्को बर्ष प्रसुती मार्ग घोषणाका लागि पहल गर्ने बताए । पुरातात्व विभागले मार्गलाई नतोक्दा सम्म प्रसुती मार्ग घोषणा हुन नसकेको उनको भनाई थियो ।
मायादेवी लुम्बिनी उपवनमा सुत्केरी भई राजकुमार सिद्धार्थलाई लिएर कपिलवस्तु फर्कंदाको इतिहासलाई स्मरण गर्न ऊक्त कार्यत्रम राखिएको थियो । तर मायादेवी कुन बाटो भएर फर्किइन् भन्ने प्रामाणिक अध्ययन विनै हचुवाको भरमा कार्यक्रम राख्दा संसोधन गर्नुपरेको हो । सोही कार्यक्रमलाई मन्त्रालयले लुम्बिनी पिस म्याराथन कार्यक्रम मर्ज गरेको छ ।
गत फागुन २३ मा प्रदेश सरकारले ४ करोड १९ लाख रुपैयाँ विनियोजन गरेर लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरे संगै अहिले पर्चा र पोष्टर टाँसेर प्रचार प्रसार अभियान भइरहेको छ । भ्रमण बर्षमा पूर्वाधार निर्माणमा भने बजेट छुटाइएको छैन ।