मनहरीमा १०८ जना आमालाई सम्मान

तामसालिङ खबर
२१ बैशाख २०७६, शनिबार १९:३५

हेटौडा (मनहरी) – मातातीर्थ औँशीको अबसरमा मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा १०८ जना आमालाई उपहार सहित सम्मान गरिएको छ । मनहरी गाउँपालिका ८ पिस पार्कमा रहेको आमाघर आश्रममा शनिबार भएको कार्यक्रममा तिन नम्बर प्रदेशकी प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आमाहरूलाई सम्मान गरिएको हो ।

आश्रमले उपलब्ध गराएको उपहारमा काइँयो, कपालमा लगाउने तेल, लोसन पाउडर, नेलकटर, लिपगार्ड, टिका, कपालमा लगाउने काँटा, रुमाल, तौलिया, छाता, थर्मस, पानीको बोत्तल, मोजा, पर्स, ब्रस, साडी, चाँदीको औठी, कम्मल, गुलाबको फूल, उपहार राख्ने ब्याग, अभिनन्दन पत्र लगायतका आबश्यक सामग्रीहरु राखिएको किट बक्स सहित १०८ जना आमालाई सम्मान गरिएको हो ।

सम्मान समारोहमा बोल्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले सन्तानका समस्याहरुको समाधानमा आमाको भूमिका हुने भन्दै आमा र भगवान एकै भएको रुपमा व्याख्या गरिन् ।

कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक एबम् मनहरी पिसपार्ककी संरक्षक राजयोगिनी रादादीजी, चलचित्र नायक एबम् निर्देशक निखिल उप्रेती, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, फिलिपिन्सकी राजकुमारी अफिनिता चाइचाना लगायतले मन्तव्य ब्यक्त गरेका थिइन् ।

कार्यक्रममा तिन नम्बर प्रदेशको सभामुख सानुकुमार श्रेष्ठ, प्रमुख बिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद मुनु सिग्देल, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, संविधानसभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*