नगर परिषद्ले जनजातिको लागि छुट्याएको बजेट मेयर महतद्वारा कटौती

नवराज वाइबा
१९ बैशाख २०७६, बिहीबार १०:१२

हेटौंडा – लक्षित वर्गको कार्यक्रम अन्तर्गत विगतदेखि नै हरेक वर्ष सञ्चालन हुदै आएको जनजाति समुदायको कार्यक्रम प्रति हेटौंडा उपमहानगरपालिकाले बेवास्ता गर्ने गरेको सम्बन्धीत पक्षले आरोप लगाएको छ ।

हेटौंडामा बुधबार जनजाति नगर समन्वय परिषद लगायत जनजाति समुदायका संघसंस्थाका संस्थागत प्रतिनीधि एवम् सञ्चारकर्मीहरु सम्मिलित एक छलफल कार्यक्रममा उनीहरुले यस्तो आरोप लगाएको हो ।

हेटौंडा उपमहानगरपालिकाले आदिबासी जनजाति कार्यक्रमका लागि नगर परिषदले यस आर्थिक वर्षकालागि विनियोजन गरेको ३ लाख रुपैया बजेट मेयर हरिबाहदुर महतले कटौती गरी डेढ लाखमा कार्यक्रम गर्न भनिएको नगर जनजाति समन्वय परिषद्का अध्यक्ष जंगबहादुर गुरुङले बताए ।

नगरपरिषद्ले विनियोजन गरिएको ३ लाख बजेटका आधारमा कार्यक्रम तयार पारी प्रस्तावना पेश गर्दा यति ठूलो बजेट जनजाति कार्यक्रमका लागि दिन नसकिने भन्दै मेयर महतले कटौती गरी डेढ लाख रुपैयामा प्रस्तावित सबै कार्यक्रम सम्पन्न गर्न भनिएको उनले गुनासो गरे ।

“उहाले कार्यक्रमबारे कहि केही हेर्नुभएन सीधै बजेट हुेर्नुभयो, र काटिदिनुभयो” उनले भने,-“मैले आदिबासी जनजाति कार्यक्रमप्रति मेयर महतको यस अघिदेखि नै अत्यन्त नकरात्मक व्यवहार पाएको छु” ।

छलफलमा सहभागी विभिन्न समुदायगत संघ संस्थाहरुबाट सहभागी प्रतिनीधिहरुले पनि जनजाति कार्यक्रमप्रति मेयर महतले गर्ने गरेको व्यवहारप्रति आपत्ति प्रकट गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर महतले आदिबासी जनजाति लक्षित कार्यक्रमबारे अध्ययन नै नगरी हठात पूर्वाग्रही निर्णय गर्ने गरेको सहभागीहरुले गुनासो गरेका छन् । बजेट कटौतीका विषयमा केन्द्रीत भएर पुनः मेयर महतसग छलफल गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*