असारबाट कुलेखानी तेस्रोमा नियमित विद्युत् उत्पादन हुने

तामसालिङ खबर
१८ बैशाख २०७६, बुधबार १३:३५

हेटौंडा – मकवानपुरको कुलेखानी तेस्रोमा असार देखि नियमित रुपमा बिद्युत उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ ।

निर्माणको काम सकाएर आयोजनाले सुरुङ परीक्षण गरिसकेको छ । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले आगामी असार सम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजना प्रमुुख सुभाष मिश्रको भनाइ छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनीको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ भएको हो । तीन पटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन ।

४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो । आयोजना निर्माणमा ढिलाई भएसँगै लागत पनि झण्डै दोब्बरले बढेको छ ।

२ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा काम लम्बिँदै जाँदा हालसम्म ४ अर्ब ६३ करोड खर्च भइसकेको आयोजनाका प्रमुख मिश्रले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*