विद्यार्थीका लागि टेलिकमले ६ महिनासम्म डाटा प्याकेज र १ वर्षसम्म बोनस

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार १६:५३

काठमाडौं – नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको हो ।

सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरूलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरीद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरीद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ ।

यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल र ५० एमबी डाटा खरीद गर्न सकिने छ ।

रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । निःशुल्क सिम उपलब्ध गराइने यो ‘विद्यार्थी अफर’ अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा बोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरूबीच लोकप्रिय भइरहेको छ ।

अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरूलाई विद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*