तिन नम्बर प्रदेश प्रमुख कोइरालाले प्रदेशसभा बैठक आह्वान

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार १९:१६

हेटौँडा – तिन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशनको बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो ।

त्यस्तै, तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीमा बुधबार चीनतर्फ प्रस्थान गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनु भएको मुख्यमन्त्री र भौतिक योजना तथा पूर्वाधारमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कट्टेललाई कार्यवाहक मुख्यमन्त्रीको रुपमा जिम्मा दिएको सचिवालयले जनाएको छ ।

यसैगरी, उद्योग, पर्यटन वन तथा वातावरणको तर्फबाट प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक २०७६ लाई बुधबार दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*