वडा कार्यालयले विजयी भलिबल टिमलाई सम्मान
हेटौँडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ । लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
प्रतियोगितामा विजयी टिमका टिम म्यानेजर तथा हेटौँडा १२ खेलकुद विकास समितिका पूर्ण लामा र टिम कोच मनोज लामा स्याङ्तानलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । त्यस्तै खेलाडीहरु उमाकान्त चौधरी, बुद्धिकृष्ण दङ्गाल, अजय थिङ, उमेश सिंतान, दिनेश मोक्तान, सन्तोष बिक, निरण सापकोटा, अमृत मिश्र, पुष्प मैनाली र राजेश घिमिरेलाई पनि सम्मान गरिएको छ ।
हेटौँडा १२ खेलकुद विकास समिति संयोजक भुवन खनालको सभाध्यक्षता तथा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशेष अतिथि भलिबलका राष्ट्रिय प्रशिक्षक तथा कोच विजयकृष्ण वादे, वडा सदस्य लिलाकुमारी बिक, टिम म्यानेजर पूर्ण लामा, टिम कोच मनोज लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
गत चैत्र २३ गते भएको फाईनल खेलमा हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समिति पदमपोखरीले जित हात पारेको थियो ।