हेटौँडामा बमको त्रास, दुइ सवारीमा आगजानी
हेटौडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द आह्वाका दिन आज मकवानपुरका विभिन्न स्थानमा बमको त्रास फैलिएको छ । केही स्थानमा सवारीमाथि आगजनि समेत भएको छ । यसैबिच हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रेसरकुकर बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ ।
तार बाहिर निकालेर राखिएको अवस्थामा प्रेसरकुकर भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।
यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ वडा कार्यालयको अगाडि भेटिएको प्रेसरकुकरलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । वडा कार्यालयको गेटमा प्रेसर कुकरमा बम लेखिएर छाडिएको पाइएपछि उक्त स्थानमा केहिबेर त्रास समेत छाएको थियो । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेर फर्केपछि भने त्रास साम्य भएको छ ।
मकवानपुरमा नै दुई वटा सवारीमाथि आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गएराति कुखुरा बोक्ने बोलेरो र बिहान भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने आइचरमा आगजनी भएको हो । प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नंबरको कुखुरा बोक्ने बोलेरो गाडीमाथि ३ जनाको अज्ञात समूहले आगजनी गरेका हुन् । बोलेरोको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको बताइएको छ ।
त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा बिहिबार राति १२ बजेर २० मिनेटको समयमा पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी आइचरमा तोडफोड र आगजनी भएको छ । आइचरमा अज्ञात समुहले आगजनी गरेको जनाइएको छ । आइचरको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।