शैलुङ साँस्कृतिक पर्यटन महोत्सव हुने

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार २०:५८

रामेछाप – रामेछापको प्रथम शैलुङ्ग सास्कृतिक पर्यटन महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । रामेछाप र दोलखाको सिमनामा पर्ने प्रसिद्ध पर्यटकीय केन्द्र शैलुङ्गमा गर्न लागिएको प्रथम साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी ८० प्रतिशत सकिएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

वैशाख १३ देखि १५ गतेसम्म रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ्ग गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवको तीब्र तयारी भइरहेकाे बताएको छ ।

महोत्सव पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै रामेछापको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले शैलुङ्ग महोत्सव अपेक्षा गरे अनुसार सफल भएमा रामेछाप र दोलखाको मात्रै नभएर समग्र नेपालकै आर्थिक समृद्धि र मुख्य पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । महोत्सव सफल बनाउनको लागि रामेछापबासीकाे विशेष भूमिका रहने तामाङले बताए ।

दोलखाको शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलाल र मेलुङ्ग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले सैलुङ्ग क्षेत्र रामेछाप र दोलखाको साझा स्थान भएकाले महोत्सवलाई दुबै जिल्लाको हो भन्ने दृष्टिले हेर्नुपर्नेमा जोड दिएका छन् । शैलुङ्गमा १०० भन्दा बढी थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छन् भने नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, पदमार्गमा विभिन्न धार्मिक स्थलहरुको अवलोकन, रमणीय हिमश्रृखलाहरुको अवलोकनबाट आनन्द लिन सकिनेछ ।

महाेत्सवमा शैलुङ्ग क्षेत्रको विकास , समृद्धि र विश्वव्यापी प्रचार प्रसारका लागि आफूहरुले आयोजना गर्न लागेको बताए । महोत्सवमा स्थानीय झाँकी, विभिन्न जातजातिका भेषभुषा , मौलिक खानाका परिकार, जंगल सफारी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती रहने छ ।

महाेत्सवमा दश हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले बताएको छ । प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गर्न लागिएकोे बताएको छ ।

७० लाख खर्च अनुमान गरिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादिन कृषिजन्य समाग्री, जडिबुट्टी, चौरी गाईकोे दुधबाट बनेका विभिन्न परिकार लगाएत अन्य व्यावसायिक प्रायोजनका स्टलहरु रहने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*