महोत्सबमा तामाङ चलचित्र श्होङ र रुङ्सी टिला आज प्रदर्शन हुदै

दिउसो संचारमन्त्री बास्कोटाबाट औपचारिक उद्घाटन हुने
चन्द्र घलान
३० चैत्र २०७५, शनिबार ०९:३६

भकुन्डेबेसी – काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा आज शनिबार तामाङ चलचित्र श्होङ, र रुङ्सी टिला प्रदर्शन हुदै छ । महोत्सबमा पाच ओटा चलचित्र छनोटमा शुक्रबार ‘सेमरीन मुला माया’ र आप्लेङ्ला नाम्सा प्रदर्शन गरिएको छ । आज सुचना तथा संचारप्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख अतिथ्यता महोत्सबको औपचारिक उद्घाटन हुने भएको छ ।

आज प्रदर्शन हुने दुइ चलचित्रहरुको बारे चर्चा गरौ:
महोत्सबमा आज बिहान चलचित्र श्होङ प्रदर्शन हुदै छ । तामाङ कथानक चलचित्र ‘श्होङ’ तामाङ समुदायको ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित छ । चलचत्रिमा एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, सिंगबहादुर तामाङ, गोम्बो घले, बिकल लामा, ए.आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोशन फ्युबा तामाङको निर्देशन तथा सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । प्रकाश तामाङको छायाँकन हेर्न सकिने चलचित्रमा पेमा टाशीले ड्रोन चलाएका छन् । चलचित्रलाई नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रमा छायाँकन गरिएको बताइएको छ ।

सिंगबहादुर तामाङकै कोरियोग्राफी रहेको चलचित्रलाई रोशन फ्युबाले सम्पादन गरेका हुन् । चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंगबहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् । यस अघि नै तामाङ कथानक चलचित्र ‘श्होङ’ को ट्रेलर सार्वजनिक भइसकेको छ ।

चलचित्रको ट्रेलरमा द्वन्द र प्रेमलाई समावेश गरिएको छ । कथा र संवादका साथै ट्रेलरमा समावेश गीतहरु समेत चर्चामा रहेका कारण चलचित्रले सफलता पाउने निश्चित भएको निर्माण पक्षको दाबी छ । ल्हाप्साङकार्पो म्यूजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ४ मिनेट ६ सेकेण्ड लामो ट्रेलरमा अधिकांश मुख्य कलाकारहरुको अभिनय समेटिएको छ ।

चलचित्रका चर्चित गीतहरुलाई समेत ट्रेलरमा स्थान दिइएको छ । तामाङ पत्रकारितामा ‘कुकुर कविता’ शिर्षकमा व्यङ्ग्य कविता लेखेर चर्चामा आएका नव कलाकार तथा साहित्यकार वाङ्जु वाईबाको अभिनय पनि ट्रेलरबाटै देख्न सकिन्छ । यस अघि नै चलचित्रको टिजरलाई डिसेम्बर २३ तारिखमा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । नायिका एन्जिला वाईबाको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले श्होङको पहिलो गीत समेत सार्वजनिक गरिसकेको छ । ‘ङ्याङ्ला माया’ बोलको उक्त गीतमा चर्चित गायिका जितु लोप्चन र गायक मनोज लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा सिंगबहादुर तामाङ र एन्जिला वाईबालाई फिचरिङ गरिएको छ ।

त्यस्तै, ह्याङ्ला मकवापनुर फिल्म्स प्रालिको प्रस्तुति तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ लाई शुक्रबार बिहान ११ बजे प्रदर्शन गर्दै छ । तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताएका छन् ।

चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको बताइएको छ । हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी सानु लामाले यसै चलचित्रमार्फत नायकका रुपमा डेब्यू गरेका छन् । उनले एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिका निभाएको बताइएको छ । चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।

महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत भैरहेको छ । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ ।

महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । यस अघि पहिलो तामाङ चलचित्र महोत्सव चितवनमा र दोस्रो चलचित्र महोत्सव मकवनपुरमा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*