लाखौं लालीगुराँस कुहिएर खेरा जादै
हेटौंडा (इन्द्रसरोबर) – राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिन्छ । बाइरोडको नामले परिचित त्रिभुवन राजपथ र हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग वरपरका जंगलमा फुलेका लालीगुराँसले यो दुबै सडकको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्याउनु स्वभाविक हो । टिष्टुङका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरु बेहुलीझंै राताम्य देखिन्छन् । त्यसैले, लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्बीर कैद गर्नमा व्यस्त देखिन्छन् भने केहीले रुख चढेर लालीगुराँसका थुंगा कोसेली लाने गर्छन् ।
हेटौंडादेखि काठमाडौं जाने तथा काठमाडौंबाट हेटौंडा जाने यात्रुले आफ्नो गन्तव्य छोटो दुरीको मार्ग र त्रिभुवन राजपथलाई बनाउने गर्छन् । कारण, डाँडैभरि फुलेका लालीगुराँस । लालीगुराँसकै कारण उक्त बाटो भएर यात्रा गर्नेको संख्या बढेको स्थानीय होटल व्यवसायी बताउँछन् । तराई भूभागमा गर्मी चढिसकेको अवस्थामा उक्त बाटोको यात्रा नै गज्जबको हुन्छ ।
चुनियाँबाट उकालो लागेर नौबीसे नपुगुञ्जेल प्राकृतिक एसी’ मा बसेको जस्तो अनुभूति हुने यात्रुको अनुभव छ । वसन्त ऋतुको आगमनसंगै फुल्ने लालीगुराँस फूलको सदुपयोग नहँदा लाखौं रुपियाँ मूल्य बराबरको नोक्सान हुने गरेको छ । बनैभरि फुलेको लालीगुराँस फूलको उचित उपयोग हुन नसक्दा त्यतिकै कुहिएर खेर गइरहेका छन् ।
लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिए पनि त्यसको सदपयोग नहुँुदा जिल्लाका बनहरुमा लालीगुराँस कुहिएर खेर गइरहेको हो । केही वर्ष पहिले लालीगुराँस फूलको जुस उत्पादन हुने गरेको भए पनि पछिल्ला वर्षहरुमा जुस उत्पादन बन्द भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने नामटार, अघोर, झिरघारी, दन्दु भञ्ज्याङ, सीमभन्ज्याङ, दामन, टिष्टुङका जंगलमा सात प्रजातिका गुराँस फुल्ने गर्छन् । केही वर्षअगाडि झिरघारीमा लालीगुराँसबाट जुस उत्पादन गरिएको थियो ।
हाल जुस बनाउने कार्य रोकिएको छ । लालीगुराँसको फूलको जुस स्वास्थ्यका लागि लाभकर हुन्छ । पहिला परम्परागत्रुपमा जुस उत्पादन गरेको भए पनि अब उद्योग पुनस्र्थापना गरेर लालीगुराँसको जुस उत्पादन गर्ने योजना बनाउन स्थानीयले सुझाएका छन् । उत्पादन हुने लालीगुराँस फूलको जुस प्रदेशका अन्य जिल्लासहित काठमाडौंसम्म निर्यात हुनसक्छ । प्रदेशका पहाडी जिल्लामा पर्याप्तरुपमा लालीगुरा“स फूल फुल्ने भएकोले उद्योग सञ्चालन गरे आम्दानी हुनुका साथै स्थानीयले रोजगारी पाउनेमा विश्वास लिइएको छ ।
सामुदायिक तथा सरकारी बनहरुमा यस समयमा बनैभरि लालीगुरास फुलेको देख्न सकिन्छ । तर, त्यसको उपभोग नहु“दा केही दिनमा नै त्यसै खेर जाने गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताए । लालीगुरा“स फूलको जुसमात्र उत्पादन गर्न सक्ने हो भने राजगारीका साथै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । मकवानपुरको सबभन्दा ठूलो करुणाभूमि, मंगलेश्वर, पातालेश्वर, ऋषेश्वर, कालीदेवी, कोटथुम्की, शंकरदीप, कालीबञ्जार र चुनीदेवीलगायत सामुदायिक बन गुरासका खानी क्षेत्र हुन् । त्यस क्षेत्र लालीगुरा“सको ‘मिनी राजधानी’ भनेर चिनिन्छ । (जनपत्र डटकम)