मनहरी गाउँपालिकाको योजनाहरुबारे जिससको अनुगमन

तामसालिङ खबर
२७ चैत्र २०७५, बुधबार ११:२५

मनहरी – मनहरी गाउँपालिकामा सञ्चालित विभिन्न योजनाहरुका बारेमा जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले गाउँपालिकाभित्र सञ्चालन भएका योजनाहरुको अनुगमन गरेका हुन् । मनहरी गाउँपालिका वडा नं ६ को प्रतापपुर जाने बाटोमा निर्माणाधीन पक्की पुलको अनुगमन गरिएको छ ।

त्यसैगरी मनहरी गाउँपालिका ७ मा मनहरी उपभोक्ता समितिले निर्माण गरिरहेको सामुदायिक लजको अनुगमन भएको छ । मनहरी ७ स्थित मनकामना मन्दिर परिसरमा निर्माणाधीन कम्पाउण्ड तथा रिभरसाइडमा निर्माणाधीन तटबन्धनको समेत अनुगमन टोलीले अनुगमन गरेको छ ।

वडा नं ८ मा रहेको पिसपार्क र गुम्बाको कम्पाउण्ड तथा वडा नं ९ को ज्यामिरे सिंचाई योजनाको अनुगमन भएको हो । वडा नं ३ मा निर्माणाधीन गाउँपालिकाको सभा हल तथा इजलास भवनको पनि अनुगमन भएको छ भने संघीय सरकारको लगानीमा निर्माण भइरहेको रजैया–हाँडीखोला–मकरी सडक खण्डको प्रगतिका बारेमा पनि अनुगमन टोलीले चासो व्यक्त गरेको थियो ।

अनुगमनका क्रममा गुणस्तरीय काम भए/नभएको बारेमा प्राविधिकहरुले अवलोकन गरेका थिए । योजनाहरुको अनुगमनपछि गाउँपालिकामा सरोकारवालासँग छलफल गर्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले मनहरी गाउँपालिकाले गरेको कार्यसम्पादन अत्यन्तै आशालाग्दो र चित्तबुझ्दो भएको प्रतिक्रिया दिए ।

उनले जनताले प्रत्यक्ष रुपमा देख्ने र भोग्न पाउने गरी विकासको नमूना पेस गरेको भन्दै मनहरी गाउँपालिकालाई धन्यवाद दिएका थिए । साथै उनले ठूला योजनाहरुको प्राविधिक इस्टिमेट गर्दा विज्ञ प्राविधिकहरुसँग सल्लाह र परामर्श लिनका लागि पनि सुझाव दिएका थिए ।

योजनाहरुका बारेमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले अनुगमन टोलीसमक्ष ब्रिफिङ गरेका थिए । मनहरी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*