मनहरीको रुञ्चेडाँडामा महायज्ञ बुद्धबचन पाठ समापन हुदै, आज उपसभामुख राधिका तामाङको सम्बोधन रहने
हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ रुञ्चेडाँडामा सुरु भएको विश्व शान्ति महायज्ञ बुद्धवचन (भुम) महाप्रज्ञापरामिता पाठ आजबाट सकिदै छ । चैत २३ गते देखि शुरु भएको आज सम्म हुने महायज्ञमा नेपाल अहिंसाबादी बौद्ध धर्म चक्र संघका धर्मगुरु ‘आचार्य खेन्पो पेमा सम्भ लामा’ को आतिथ्यतामा भैरहेको छ ।
समस्त प्राणीको उद्धार,राष्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उदेश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने कार्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत चैत्र २३ गते संक्षिप्त बुद्ध बचन (भुम) महाप्रज्ञापारमिता ग्रन्थ पाठ तथा विश्वशान्तिको महायज्ञ कार्यक्रम उद्घाटन गरिएको थियो । त्यस्तै चैत्र २४ गते बुद्ध बचन ग्रन्थपाठ तथा मोन्लम प्रणीधान र चैत्र २५ गते बुद्ध बचन ग्रन्थपाठ संगै साँझ पितृ मोक्षको लागि छोक म्हार्मेन (दिप प्रज्वलन) समेत गरिएको थियो ।
आज बिहानबाट पुजापाठ संगै विश्व शान्ति होम महायज्ञ गरि धर्मगुरुबाट औपचारिक धार्मिक प्रवचन सहित छेवाङ अभिषेक प्रदान गरिने बताइएको छ । समापन कार्यक्रममा तिन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको सम्बोधन हुने तालिका रहेको आयोजकले बताएको छ ।
आजै अग्नि होत्र आश्रमको गुरुबाट पनि धार्मिक प्रवचन संगै अहिंसावादी कला केन्द्रबाट बुद्ध भजनकिर्तन सहित साँस्कृतिक कार्यक्रम हुने पुजा साँस्कृतिक कार्यक्रम संयोजक निमा वाइबा लामाले बताए ।