सुकुम्वासी आयोग देखि भूमिसुधार मन्त्री सम्म: दावा लामा
२०७४ फाल्गुण १७ बिहीबार प्रकाशित
हेटौडा– तिन नम्बर प्रदेशको मन्त्रिपरिषद बुधबार बिस्तार भएको छ । कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय चितवन क्षेत्र नम्वर १ (क) का प्रदेशसभा सदस्य दावा दोर्जे लामाले सम्हाल्ने भएको छ ।
लामाले बुधबार प्रदेश प्रमुखको कार्यालय हेटौडामा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यसअघी लामा उद्योग मन्त्री बन्ने चर्चा चलेपनि अन्तिम समयमा कृषि,सहकारी तथा भूमिसुधार मन्त्री बनेको हो ।
सुकुम्वासी आयोगका पुर्वअध्यक्ष समेत रहेका लामा संगै अन्य मन्त्रीहरु युवराज दुलाललाई सामाजिक विकास मन्त्री, कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री, अरुण नेपाललाई उद्योग मन्त्रीमा नियुक्त गरिएको थियो ।
यस संगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषदलाई पूर्णता दिएको छ ।
मन्त्रि लामाको राजनैतिक यात्रा :
मकवानपुुर जिल्लाको साबिक काँकडा गाविस वडा नं.५ शिलाधुनीमा वि.सं.२०१६ वैशाख ७ गते जन्मिएका प्रदेश मन्त्री दावा दोर्जे लामा हाल राप्ती नगरपालिका-५ चितवन निवासी हुन् । २०३५ सालमा माक्र्सबादबाट राजनीति सुरु गरेका लामा २०३७ सालमा मोटो मसाल, २०३९ सालमा माले सम्पर्क, २०४० सालमा कोराकको सक्रिय दलको सचिव बनेका थिए । यस्तै २०४३ सालमा लामा जनपक्षीय मंच चितवन जिल्ला कमिटि सदस्य समेत बने ।
२०४४ सालमा पार्टी इलाका कमिटि सचिव र २०४७ सालदेखि २०६० सालसम्म एमाले जिल्ला कमिटि तथा सचिवालय सदस्यको रुपमा लामाले काम गरि सकेका छन् । २०६० बाट अञ्चल कमिटि सदस्य राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै लामा हाल नेकपा एमाले प्रदेश नं.३ पार्टी संगठन कमिटि सदस्य समेत हुन् ।
नेता लामा जनवर्गाीय संगठन नेपाल लोकतान्त्रिक तामाङ संघको केन्द्रीय अध्यक्ष समेत रहेका छन् । लामा २०५९ को पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नवौं राष्ट्रिय महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधि रहेका थिए । उनी पार्टी संगसंगै सामाजिक काममा पनि सक्रिय नेता हुन् ।
२०४० सालमा बौद्ध विकास युवा क्लवका अध्यक्ष भएर काम गरेका लामा २०४१ मा एक विद्यालय संचालक समितिका अध्यक्ष, २०४३ मा जनपक्षीय प्रधानपन्च कोराक, २०५० मा हरियाली संरक्षण समिति नेपालका अध्यक्ष, २०५४ मा जिल्ला विकास समिति चितवनको अध्यक्ष भएर सराहनीय काम गरेका थिए ।
यस्तै २०६५ मा नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय गुम्बाविकास समितिको सदस्य भई २०७० मा सुकुम्बासी समस्या समाधान आयोग चितवनको अध्यक्ष भएर काम गरि सकेका अनुभवी व्यक्ति हुन् । हाल प्रदेश नम्बर ३ अन्तर्गत प्रदेश सभा चितवन क्षेत्र नं.१ (क)बाट निर्वाचित लामा २०४६, ६२/६३ को जन आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने अग्रणी नेताको रुपमा चिनिन्छन् ।