प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव सम्पन्न

तामसालिङ खबर
७ फाल्गुन २०८१, बुधबार ०८:२६

हेटौंडा । ०७फाल्गुन/ हेटौडा १३ पदमपोखरी स्थित लोकतान्त्रिक चोकमा प्रथम सांस्कृतिक महोत्सव पदमपोखरी मेला आज तेस्रो दिनमा सम्पन्न भएको हो ।”संस्कार, संस्कृति, साहित्य र कलाको जगेर्ना गरौ, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं”,भन्ने मुल नाराका साथ यस पदमपोखरी सांस्कृतिक महोत्सव आयोजना गरीएको हो ।

कार्यक्रममा हेटौंडा १३ का वडा सदस्य उत्तम गोम्जाले स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले यस मेलाले हेटौंडा १३ का स्थानीय बासिन्दालाई व्यापार व्यवसाय माथि थप टेवा पुर्याएको अनुभूति भएको बताए । यस वडामा भएको उत्पादन कृषि उपज अन्तर्गत देखिएका उत्पादनलाई प्रवर्धन गर्ने र यस क्षेत्र पदमपोखरीको आफ्नो पहिचानलाई एउटा उचाइमा उठाउन आन्तरिक पर्यटनलाई भित्र्याउन पर्ने समेत मोक्तानले बताए ।

महोत्सवमा स्थानीय परम्परागत रहेका उपयोगी उपभोक्ता कृषि उपज सामग्रीहरू, आधुनिक सीपमा विभिन्न सामान उत्पादन, गुन्द्रुक, फापरको पिठो, कोदोको पिठो, परालका चकटी, खोस्टाका पिरा, परालको ढाकी, बाँसजन्य सामग्री बाट बनेका विविध सामानहरू र महोत्सवलाई अवलोकन गर्न आएका व्यक्तिहरूको लागि पूर्णलक्षित विभिन्न खानाका परिकारहरू समेत रहेको छ ।

महोत्सवलाई साङ्गीतिक बेजोड प्रस्तुति दिन आज सांस्कृतिक कार्यक्रममा कलाकारहरु रोज मोक्तान, आर के खत्री, साम्तेन मोक्तान, द ट्राइलोजी ब्याण्ड लगायत विभिन्न सांस्कृतिक कोसेलीका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, अतिथिमा नेसपा केन्द्रीय कार्यकारिणी सदस्य सोविन थिङ्ग,जसपा नेपाल मक‌वानपुर जिल्ला सचिवालय सदस्य जिवन पाख्रिन लगायत विभिन्न राजनीतिक दलका नेताहरू,टोल विकास समिति अध्यक्षहरु, सघं संस्था प्रतिनिधि एवम अन्यको उपस्थिति रहेको थियो ।

हेटौडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष पेम्बा लामाले यस महोत्सवले यस क्षेत्रको उत्पादन र बजारीकरणको अवधारणा एउटा लिएको छ । यस वडा भित्र रहेका स्थानीय व्यापार कृषि उपज अन्तर्गत देखिएका उत्पादनलाई प्रवर्धन गर्ने र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउने एउटा स्तम्भ बनाउने प्रयास यस महोत्सवले गरेको अध्यक्ष लामाले बताए ।

कार्यक्रम फाल्गुन ४ देखी ६ गते सम्म तिन दिने महोत्सव आयोजना गरीएको मुल कार्यक्रम समारोह समिति संयोजक रञ्जु गोम्जाले बताए ।

प्रथम पदमपोखरी साँस्कृतिक महोत्सवका रञ्जु गोम्जा मुल कार्यक्रम समारोह समिति संयोजक थिए । हेटौंडा उपमहानगर‌पालिका वडा नं. १३ का वडा अध्यक्ष पेम्बा लामाको सभाध्यक्षमा कार्यक्रम सम्पन्न गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*