मनहरीमा ल्होछारको भव्य तयारी, ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने
माघ, हेटौडा (मनहरी) – तामाङ समुदायको साँस्कृतिक पर्व २०६१ (डुल ल्हो/सर्प बर्ष) को अवसरमा पश्चिम मकवानपुरको मनहरीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति हरित पार्कमा २ दिने ल्होछार बिशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो।
बुधबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार यहि माघ १६ र १७ गते बागमती प्रदेश (नेवा: तामसालिङ) का मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यमा हुने जनाएको छ। ल्होछारको पुर्वसन्ध्या १६ गते शुरु हुने कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु गायक मिलन लामा, जीवन भोम्जन लगायतको मुख्य प्रस्तुति रहने छ भने साँझ लामागुरुबाट ल्हो फाल्ने कार्य सहित पुजापाठ रहने आयोजकले जनाएको छ। त्यस्तै ल्होछारको मुख्य दिन १७ गते चर्चित गायिका ज्योति मगर, बालिका तामाङ सहित स्थानीय आस्था कला केन्द्रको कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक सुरेश कुमार मुक्तानले जानकारी दिनु भयो।
संयोजक मुक्तानका अनुसार गत बर्षहरुमा झैँ ज्येष्ठ नागरिकलाई सम्मान रहने त्यसैगरी तामाङ परम्परागत पोशाक सहित तामाङ समुदायको प्राचीन खानेकुराको मौलिक खाना, गुथुक्पा, खाप्से लगायत परिकारको स्टल रहनेछ । ल्होछारलाई भब्य बनाउनका लागि मनहरी गाउँपालिका, मनहरी गाउँपालिका ७ नं वडा कार्यालय, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, विभिन्न संघसंस्थाहरु, व्यक्ति, समुदायबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, मनहरी ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामा, मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदी लगायतकाको सहभागिता रहेको थियो।