जर्जिया बस्ने गुरुङको परिवारले गरे राक्सिराङका चेपाङ विद्यार्थीलाई सहयोग

तामसालिङ खबर
२१ भाद्र २०८१, शुक्रबार ०९:५१

राक्सिराङ, भदौ २० । राक्सिराङ गाउँपालिकाको विकट भेगका चेपाङ विद्यार्थीलाई बिद्यालय पोशाक तथा सरसफाई स्वच्छताका सामाग्रीहरु सहयोग गरिएको छ । राक्सिराङ ५ को लोकप्रिय प्रथामिक बिद्यालय जुर्लिङमा अध्ययनरत बिद्यार्थीका लागि पोशाक तथा अन्य सामाग्री सहयोग गरिएको हो । जर्जिया बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, पेमा गुरुङ र उनीहरुको छोराहरु सलिन र समिन गुरुङको तर्फबाट सो सहयोग गरिएको समाजसेवी रेखा तामाङ लोप्चनले जानकारी दिनुभयो । तामाङकै सहयोग अभियानअन्तर्गत गुरुङ परिवारले सहयोग गरेका हुन ।
गुरुङ परिवारले गत असारमा पनि पहिलो चरणमा बालबालिकाहरुका लागि पोशाक वितरण गरेका थिए । त्यसबेला जर्जियामा व्यवसाय गर्दै आएका कर्ण गुरुङ आफैँ आएर बिद्यालय र बालबालिकाको अवस्थाबारे बुझेपछि थप सहयोग गरिएको समाजसेवी तामाङले बताउनुभयो । पहिलो चरणमा छुटेका बालबालिकालाई पोशाकसहित ७५ जनाभन्दा बढिलाई सरसफाई समाग्री वितरण गरिएको थियो । चेपाङ बालबालिकाको निम्ति टिफिन बक्स, पानी खाने बोत्तल, स्याम्पु साबुन, ब्रस, मन्जन लगायत विभिन्न सामाग्री दिइएको तामाङले जानकारी दिनुभयो ।
गुरुङ परिवारले चेपाङ समुदायको दुई जना बालबालिकालाई डाक्टर पढाउन सहयोग गर्नेसमेत घोषणा गरेका छन । स्कुले शिक्षा पुरा भएपछि दुई जनालाई डाक्टर पढाउन सहयोग गरिने तामाङले जानकारी दिनुभयो ।
सहयोग वितरण कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङतान, स्थानीय अगुवा कृष्ण बहादुर चेपाङ, सगुन स्याङतान, ज्ञानेन्द्र तामाङ, रामशरण प्रजा लगायतको उपस्थिति रहेको थियो । संविधानसभा सदस्य स्याङतानले विकटका विपन्न चेपाङ बालबालिकाको उज्वल भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै सहयोग गर्ने दाताको खुलेर प्रशंसा गर्नुभयो । उहाँले सहयोगी दातालाई सम्मानस्वरुप मायाको चिनो पनि प्रदान गर्नुभयो ।
करिब ८० जना विद्यार्थी रहेको सो बिद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने गर्छन । विपन्न तथा गरिब परिवारको बालबालिकालाई बिद्यालय पोशाक तथा स्टेशनरी सामाग्रीहरुको समेत अभाव हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*