घरेलु उद्योगका उत्पादन प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याइने :मन्त्री श्रेष्ठ

तामसालिङ खबर
२७ बैशाख २०८१, बिहीबार २१:४५

राजकुमार के.सी.
हेटौंडा । २७ वैशाख/नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले विशेष कार्यक्रम ल्याउने बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले बताए ।

बिहीबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा हेटौंडामा पहिलो पटक सञ्चालित ३ दिने साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै मन्त्री प्रकाश श्रेष्ठले लघु तथा घरेलु उद्योगको प्रवर्धनका लागि प्रदेशभित्रै उत्पादन र बजारिकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकार सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवद्र्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्री हुने र अत्यधिक माग भएका बस्तुहरुसमेत त्यसै थन्किएको बताए । उहाले तालिम पश्चात उद्यामीहरुले उत्पादन गरेका बस्तुहरको बजारिकरणमा सहज हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनालले ठुला उद्योगीहरुको तुलनामा साना उद्योगहरुले डिजिटल प्रणालीमा जान, उत्पादनलाई बजारिकरणमा लैजान समस्या भोगिरहेको अवस्थालाई हेरेर नमूनाका रुपमा पहिलो पटक ई–कमर्श तालिम सञ्चालन गरिएको बताईन् ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलले आगामी आर्थिक वर्ष साना तथा लघु उद्यमीहरुलाई समेट्ने गरी ई–कमर्श तालिमको निरन्तरता दिने र डिजिटलमा आधारित नयाँ कार्यक्रमहरु ल्याउने गरी योजना बनाइएको जानकारी दिए ।

तालिमपश्चात साना तथा लघु उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई डिजिटल प्लेटफर्ममा समावेश गर्ने, स्वदेश तथा विदेशमा बजारिकरण गर्ने, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हाँसिल गर्ने लक्ष्य राखिएको नेपाल उद्योग बाण्ज्यि महासंघ बागमती प्रदेश कोषाध्यक्ष कबिराज खत्रीले बताए ।

ई–कमर्श सम्बन्धि तालिममा नेउवा महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सदस्य मधुसुधन गुरागाईंले सहजिकरण र हाइपर्सका प्रशिक्षकहरु सौरभ चालिसे र पियुषलाल श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

तालिममा बागमती प्रदेश अन्तरगत १३ जिल्लाका २८ जिल्ला/नगर उद्योग वाणिज्य संघ, १३ जिल्लाका घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालाय मातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी १ सय २० जनाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*