छैठौ बागमती गोल्डकपको खेल तालिका सार्बजनिक, बिजेतालाई १० लाख

तामसालिङ खबर
२८ माघ २०८०, आईतवार १८:३४

माघ, हेटौडा (बागमती) – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा हुने छैठौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ l आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो l

प्रतियोगिताको उद्घाटन खेल फागुन १ गते राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच प्रतिस्पर्धा हुने भएको छ l फागुन २ गते हिमालयन शेर्पा क्लब काठमाडौं र आयोजक बीच प्रतिस्पर्धा हुनेछ l

तेस्रो खेल फागुन ३ गते नव जनजागृति क्लब सिमरा र एन.आर.टि.फुटबल क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ l त्यस्तै, फागुन ४ गते ए.पी.एफ. क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड भिड्ने छन् l

प्रतियोगितामा ७ वटा ए डिभिजन क्लब र मोफसलका ३ वटा गरी जम्मा १० वटा क्लबहरुको सहभागिता रहने बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनु भयो ।

समूह “क” मा जावलाखेल युथ क्लब ललितपुर, राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब, काठमाडौं, नव जनजागृति क्लब सिमरा र एन.आर.टि.फुटबल क्लब काठमाडौं परेका छन् भने समूह “ख” मा त्रिभुवन आर्मी क्लब, काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक टीम, ए.पी.एफ. क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड रहेका छन् l

प्रतियोगिता बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुर स्थित जनता माविको खेलमैदानमा हुनेछ l प्रतियोगिता गोल नेपाल डट कम र रेडियो झुरझुरे ९०.६ मेघाहर्जबाट प्रत्यक्ष प्रसारण गरिने अध्यक्ष श्रेष्ठले बताए l

प्रतियोगिता गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदेशी टोली भुटनिज स्पोर्ट्स क्लब र संकटा युथ क्लब प्रतियोगितामा सहभागी नहुने भएको हो । आयोजकले छैठौं संस्करणको प्रतियोगितामा सहभागी हुनका लागि खबर गरेपनि दुई टोलिले सहभागी नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस्तै पालिका खेलकुद विकास समितीका सदस्य सचीव प्रमोद राईले पालिकाले यस पटक गोल्डकपको राशी पनि वृद्धि गरेको बताउनुभयो । यस संस्करणको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने उहाँले बतानुभयो । गत संस्करणमा विजेताले ८ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरिनेछ l म्यान अफा दि म्याच घोषित प्रत्येक खेलाडीले १०/१० हजार रुपयाँ प्राप्त गर्नेछन् ल

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी लगायतकाको उपस्थिति रहेको थियो ।

२०७४ बाट सुरु भएको बागमती गोल्डकपले छैठौं संस्करणको यात्रा तय गरेको छ । प्रथम संस्करणको उपाधी हरिहरपुरगढी गाउँपालिका, सिन्धुलीले हात पारेका थिए । दोस्रो संस्करणमा उपाधी सरस्वति युवा क्लब, जावलाखेल र तेस्रो संस्करणमा जावलाखेल युवा क्लव, ललितपुरले जितेको थियो । त्यस्तै, चौथो संस्करणमा थ्री स्टार युथ क्लब, ललितपुर र पाँचौं संस्करणमा भुटनीज स्पोर्ट्स क्लब, अमेरिका विजेता बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*