मनहरी महोत्सब आज सोनम ल्होछार बिशेष, ख्याती प्राप्त तामाङ कलाकारको प्रस्तुति रहने

तामसालिङ खबर
२७ माघ २०८०, शनिबार ०८:१०

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बगरमा जारी पाँचौ मनहरी महोत्सब आज ल्होछार बिशेष हुँदै छ । तामाङ समुदायको नयाँ बर्ष २८६० डुक ल्हो (गरुड बर्ष) सोनाम ल्होछारको अवसरमा आज मनहरी महोत्सब ल्होछारमय हुने भएको हो।

ल्होछारमय भब्य बनाउनको लागि तामाङ सांगीतिक क्षेत्रमा ख्याती प्राप्त गायक सन्जिब वाइबा, मार्मिक लामा, रबिन कुमार चेपाङ्ग,अन्जु थोकर, लक्ष्मी तामाङ्ग, बालिका तामाङ्ग, सहित आस्था कला केन्द्रको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

महोत्सवमा शुक्रबार चर्चित गायिका एलिना चौहानको गीतमा दर्शकहरु रमेका छन् । दर्शकमाझ आफ्नो चर्चित गीत ‘धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी’ गीत गाउँदा दर्शकले सँगै नाँचेका थिए ।

त्यसअघि मकवानपुरे चेली एवम् चर्चित लोकदोहोरी गायिका चन्दा अर्यालले प्रस्तुति दिएकी थिइन् । उनले ‘खान्न म त पिँडालु कुक्यायो, मै सोझोलाई मायाले झुक्यायो’, ‘स्याउ ल्याइदिउँ कि केरा’ जस्ता लोकप्रिय गीतहरु गाएकी थिइन् । युवा कमेडियन दिनेश काफ्लेको कमेडी सुनेर दर्शकहरु पेट मिची मिची हाँसिरहेका थिए ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गते आइतबार सम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १ सय ५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, च्याउबाट बन्ने विभिन्न परिकारहरु, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलो सहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी, चिउरीको मह, मनहरी बहुमुखी क्याम्पसको बिद्यार्थीहरुको मट्का चिया लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबर्द्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरु सहितका स्टलहरुको व्यवस्थापन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*