ल्होछार महोत्सबको मन्त्री लामाद्वारा उद्घाटन, आज एलिना चौहानको प्रस्तुति

तामसालिङ खबर
२५ माघ २०८०, बिहीबार ०६:४६

माघ, चितवन (राप्ति) – प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सवको उद्घाटन भएको छ । मन्जुश्री सम्वत २८६० (डुक/मु ल्हो) सोनाम ल्होछारको अवसर पारेर श्री च्योमदेन दे ढा च्योम गुम्बाद्वारा आयोजित महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बहादुरसिंह लामाले उद्घान गरेका हुन् ।

प्रमुख अतिथि लामाले तामाङ समुदायको गौरव र गरिमा बोकेको ल्होछार महोत्सवले तामाङहरुको संस्कार र संस्कृतिलाई उजागार गरेको बताए । उनले महोत्सवको सफलताको शुभकामना दिँदै तामाङको संस्कृति जगेर्नाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा तामाङ सेलो तथा राष्ट्रिय कलाकारहरु उर्गेन दोङ, जितु लोप्चन, विकाश काल्तानको बेजोड प्रस्तुति थियो । तामाङ संस्कृति झल्किने डम्फु सेलो, फापरी सेलो, मेन्दो सेलो समेत प्रदर्शन गरिएको थियो । कलाकारहरुले गीत संगीतमा दर्शकहरु उत्साहित भएर झुमेका थिए ।

सोही अवसमा विपन्न वर्गका ४० बढी घरधुरीलाई कम्बल वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई तामाङ टोपी र खादा पहिराएर स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सचिव गोमनसिंह तामाङ, चितवन घेदुङका सचिव सन्देश घलान, बागमती प्रदेशका सांसद सुमन तिमिल्सिना, राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामा, निवर्तमान उपमेयर इमानसिंह लामा, विभिन्न पालिकाका मेयर तथा वडाध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए ।

आयोजकका अनुसार राप्ती ९, वानगु्रपमा जारी महोत्सवको आज दोस्रो दिन (बिहीबार) पछिल्लो पुस्ताले अत्यधिक रुचाइएका एलिना चौहानको प्रस्तुति रहने छ । कार्यक्रमको प्रस्तुतिसँगसँगै चौहानलाई स्थानीय कलाकारको पनि साथ रहने छ । कार्यक्रम गुम्बाका अध्यक्ष देवराज लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*