बुद्ध शान्ति हरित पार्कमा हुने ल्होछार मेलाको तयारी तिब्र
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको साँकृतिक पर्व २८६० डुक ल्हो (गरुड बर्ष) अवसरमा साङग छ्योइफेल गुम्बाको समन्वयमा बुद्ध शान्ति हरित पार्क परिसरमा यहि माघ २७ गते ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
सोमबार पार्क परिसरमा पत्रकार सम्मेलन गर्दै गत बर्ष झैँ ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको डुक ल्होछार मूल आयोजक समितिका संयोजक सुरेश मुक्तानले बताउनुभयो।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रम कै अवसरमा आयोजकले ७ नम्बर वडाका ८० बर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान पत्र सहित नगद प्रदान गरिने आयोजकले जनाएको छ।
ल्होछार मेलाको उद्घाटन अघि पश्चिम तर्फ रमन्टार गुम्बा र पुर्व तर्फ सिम्पानी गुम्बाबाट मौलिक भेषभुषा, बाजागाजा सहित लामा गुरुको झाँकी सहितको शोभायात्रा (र्याली) हुने संयोजक मुक्तानले जानकारी दिनुभयो ।
ल्होछार मेलालाई भब्य बनाउन ख्याती प्राप्त गायक देवलाल मुक्तान, रबिनकुमार चेपाङ्ग, सुन्दर लामा, बालिका तामाङ्ग, प्रिती बहादुर ब्लोन, माया तामाङ्ग, दिपक मुक्तान, सुशील मोक्तान, लगायत आस्था कला केन्द्र र इस्टर्न रकर्स ब्याण्डको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलामा तामाङ्ग मौलिक खाना सहित स्थानीय स्तरमा उपलब्ध उत्पादन, बस्तु, दैनिक उपभोग्य सामग्री लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ।