चितवनमा पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने

तामसालिङ खबर
२२ माघ २०८०, सोमबार १३:५७

माघ, चितवन (राप्ति) – पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ स्थित वानग्रुप क्याम्पामा ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को तयारी तिब्र पारिएको छ । श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा चितवनमै पहिलो पटक राप्तीका तामाङ समुदायले उक्त महोत्सवको सुरुवात गर्दैछ ।

तामाङ समुदायको संस्कार, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक उक्त महोत्सव हुन गइरहेको श्री च्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष तथा महोत्सव संयोजक समेत रहनु भएका देवराज लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार सोनाम ल्होछारको अवसर पारेर सुरु हुने महोत्सव माघ २४ गतेदेखि २७ गतेसम्म चल्नेछ । चार दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

२० वटा स्टल रहने महोत्सवमा विशेष गरी तामाङको खानाका परिकार, पहिलेको पुस्ताले प्रयोग गर्ने घरायसी स्रोत साधन, धर्म संस्कृति अनुसार पाठपूजाको प्रदर्शन हुनेछ भने सँगसँगै अन्य समुदायको खानाको परिकार र भेषभूषाको स्टल राखिने उनले बताए । महोत्सवमा विशेषगरी तामाङ संस्कृति झल्किने डम्फु सेलो, फापरी सेलो, मेन्दो सेलोलाई जोड दिइने उनको भनाइ छ ।

महोत्सवको उद्घाटनमा सबै जातजातिको भेषभूषा झल्किने झाँकीसहितको र्याली ब्रम्हनगर सुरु हुनेछ भने उक्त र्यालीमा सबै समुदायका जातजातिलाई सहभागिताका लागि आयोजकले आग्रह समेत गरेको छ ।

महोत्सवको पहिलो दिन (माघ २४ गते) राष्ट्रिय कलाकार उर्गेन दोङको प्रस्तुति सँगसँगै जितु लोप्चन, विकाश कालदेनको सहभागिता रहने   छ । यस्तै माघ २५ गते पछिल्लो पुस्ताले अत्यधिक रुचाइएका एलिना चौहान सँगसँगै स्थानीय कलाकारको प्रस्तुति हुनेछ । माघ २६ गते चर्चित कलाकार ज्योति मगरको बेजोड प्रस्तुति हेर्न पाइने छ ।

महोत्सवको समापनमा नेपालको प्रसिद्ध पुरानो ब्याण्ड ‘द एक्स ब्याण्ड’ को बेजोड प्रस्तुति रहने छ सँगसँगै युवाहरुको ढुकढुकी आसमान लोप्चन र अन्जु तामाङले साथ दिनेछन् । गुम्बाका अध्यक्ष लामाले २८६० (डुक/मु ल्हो) सोनाम ल्होछारमा सुरु हुन गइरहेको महोत्सव सफल पार्नका सबैले आ–आफ्नो स्थानबाट सहयोगको अपिल गर्दै अवलोकन गरी दिन आग्रह समेत गरेका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नगर इकाई कमिटी मुख्य संरक्षक रहेको महोत्सवको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका संरक्षकमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*