पाँचौ मनहरी महोत्सबको तयारी पुरा, भोलि उद्घाटन हुँदै

तामा र माछाको स्वाद, रैथाने बालीको प्राथमिकता, चेपाङ्ग बनकरियाको साँस्कृतिक प्रदर्शनी हुने
तामसालिङ खबर
१५ माघ २०८०, सोमबार १२:०१

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको व्यापारिक केन्द्र मनहरीमा पाँचौ संस्करणको मनहरी महोत्सबको तयारी पुरा भएको छ। भोलि माघ १६ गते मंगलबार देखि मनहरी पुलको उत्तरी क्षेत्रको बगरमा हुने महोत्सबको तयारी पुरा भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति तथा महोत्सब व्यबस्थापन समितिका संयोजक गणेशमान मानन्धरले जानकारी दिनुभयो।

बागमती प्रदेश सभाका संसद इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा महोत्सबको उद्घाटन समारोह हुने भएको छ। भोलि महोत्सबको उद्घाटन अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट शोभायात्रा गर्ने तयारी भएको संयोजक मानन्धरले जानकारी दिनुभयो । स्टल र स्टेज निर्माण कार्य पुरा भएको छ। महोत्सवमा ३० वटाभन्दा बढी स्थानीय व्यवसायी, व्यापारी र प्रदर्शकहरुले बुकिङ गरेको स्टल संयोजक शिवशंकर स्याङ्तानले बताउनुभयो ।

मनहरीको पहिचान तामा र माछा
महोत्सबमा मनहरी पहिचानको रुपमा परिचित तामा र माछाको पारखीहरुलाई स्वाद चखाउने तयारी गरिएको छ । मनहरी गाउँपालिका ४ मा रहेको भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले तामा र माछाको स्वाद दिलाउने गरी स्टल राखेको छ ।

स्टलमा जिउँदो माछा समेत राखिनेछ भने माछाको मम, माछा फ्राइ, माछाको सेकुवा समेत बिक्री गरिने प्रालिका सञ्चालक खेमराज गुरुङले बताउनुभयो । ‘मनहरीको पहिचान भनेकै माछा र तामा हो’, आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले भन्नुभयो–‘यसपटकको जाडो याममा महोत्सव परिसरमै तामा र माछाको स्वाद चखाउने व्यवस्था मिलाएका छौँ ।’

स्थानीय रैथाने बालीको प्रबर्द्धन, चेपाङ्ग, बनकरियाको संस्कृतिक प्रदर्शनी
१ सय ५० वटा स्टल रहने महोत्सवमा मनहरी, राक्सिराङ्ग, कैलाशमा उत्पादित गेडागुडी, गिठ्ठा, लोकल कुखुरा, घट्टमा पिसेको मकैको पिठो, कोदोको पिठो, मास, गहत, मह, भटमास लगायत कृषि प्रदर्शनी, रैथाने बाली प्रबर्द्धनको लागि प्राथमिकता दिएको छ।

त्यसैगरी पश्चिम मकवानपुरमा बाहुल्य रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले जानकारी दिनुभयो ।

यही माघ १६ देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय र स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ ।

स्थानीय लुकेका प्रतिभाहरुलाई उजागर गर्दै राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचार-प्रसार उपसमिति संयोजक राजु राउतले बताउनुभयो । कोरोनाका कारण २०७५ सालदेखि रोकिएको महोत्सव ५ बर्षको अन्तरालमा आयोजना हुन लागेको हो । पाँचौ संस्करणको मनहरी महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*