राक्सिराङ्गमा २१ बुद्धे घोषणा गर्दै सकियो, सामुदायिक वन ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया
कार्तिक, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकामा वन तथा जैविक विविधता संरक्षण, वातावरण व्यवस्थापन एवम् समुदाय सशक्तिकरण विषयमा २१ बुद्धे घोषणा पत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ।
राक्सिराङ्ग गाउँपालिकाको आयोजना तथा डिभिजन वन कार्यालय राप्ति, राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) र सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ्गको सहकार्यमा वन उपभोक्ता समुह, नागरिक समाज एवम् जनप्रतिनिधिहरुविच सामुदायिक वन ब्यवस्थापन सम्बन्धी २१ बुद्धे प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले के गर्न हुने, के नहुने सो बारे वन ऐन नीति नियम अनुसार कानुनको पालन गर्नुपर्ने बताउनुभएको छ। पालिका भित्र दर्ता भएका वन समितिले आफ्नो कार्यहरु चुस्तदुरुस्त राख्न समेत आग्रह गर्नुभयो। हामी भू उपयोग नीति लागु गर्दै छौ, यसमा वन समितिको साथ अनिवार्य चाहिन्छ, पर्यापर्यटनको प्रचुर सम्भावना रहेको स्थानको खोजि र विभिन्न आम्दानीको स्रोत खोजि गर्दै आयमुलक काममा स्थानीय सरकारको सधै साथ सहयोग रहने समेत बताउनुभयो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ति मनहरीको वन अधिकृत लोकराज नेपाल, सब डिभिजन वन कार्यालय राक्सिराङ्गका दिनेश सत्याल, वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडाका अध्यक्ष हरि बहादुर प्रजा, ६ नम्बर वडाको वडा अध्यक्ष अक्कल बहादुर मोक्तान र ७ नम्बर वडाका वडा अध्यक्ष राम बहादुर प्रजा लगायत कार्यपालिका सदस्य, वन समितिको प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय जनवकालत मन्च नेपाल (नाफान) का सह-सचिव चन्द्रप्रसाद थानीले वन तथा जैविक विविधता संरक्षण, वातावरण व्यवस्थापन एवम् समुदाय सशक्तिकरण विषयमा कार्यपत्र प्रस्तुति राख्नुभएको थियो।
हेर्नुहोस् घोषणा पत्र
१. गाउँपालिका क्षेत्रका वन, वातावरण, जैविक विविधता संरक्षणमा वन उपभोक्ता समुह, सहकारी समुह, विद्यालय, महिला समुह, क्लव, टोल विकास संस्था आदिलाई परिचालन गरिनेछ ।
२. गाउँपालिका क्षेत्रका सामुदायिक तथा कवुलियति वन उपभोक्ता समुहको विधान र कार्ययोजनालाई समयानुकुल संशोधन गर्दै नियमित कार्य संचालन गर्ने वातावरण तयार गरिनेछ ।
३. गाउँपालिका क्षेत्रमा लोप हुदै गएका रुख विरुवा तथा मूल्यवान प्रजातिको संरक्षणमा जोड दिदै आदिवासि जनजाति तथा स्थानिय समुदायको सक्रियतामा जैविक विविधता संरक्षण व्यवस्थापनको लागी जोड दिइनेछ ।
४. सामुदायिक वन उपभोक्ता समुहहरुको नियमित वैठक, साधारण सभा, वार्षिक लेखा परिक्षण एवं प्रतिवेदन प्रणालिलाई व्यवस्थत गरिनेछ ।
५. सामुदायिक वन उपभोक्ता समुह भित्र देखिएको कमि कमजोरी, आर्थिक हिनामिना, अपारदर्शी गतिविधिलाई निस्तेज गर्न गाउँपालिका र डिभिजन वन कार्यालयले समुदायसंगको समन्वयमा समुहभित्र आवश्यक सहजिकरण गर्नेछौँ ।
६. सामुदायिक वन उपभोक्ता समुहमा यूवा, महिला, अपाङ्ग तथा अन्य पछाडी पारिएका समुदायको सहभागिता र निर्णय प्रकृयामा पहुँच अभिवृद्धिमा जोड दिइनेछ ।
७. राक्सिराङ्ग गाउँपालिका चेपाङ, चिउरी र चमेराको रुपमा पनि चिनिन्छ । यो तिन (च) को संरक्षण, विकास र विस्तारको लागी चिउरी पकेट क्षेत्र घोषणा गर्दै वृहत चिउरी संरक्षण अभियान संचालन गरिने छ । यस कार्यमा चेपाङ चिउरी यूवा क्लव लगायत वन उपभोक्ता समुहसंग सहकार्य गरिनेछ ।
छ ।
८. राक्सिराङ्ग गाउँपालिकाको भौगोलिक अवस्थिति जोखिम युक्त भएकाले यस गाउँपालिकाको वन जैविक विविधता, वातावरण लगायत यस क्षेत्रको जैविक संस्कृति संरक्षण र प्रवर्धनमा लगानी गर्न सम्वन्धित निजि क्षेत्र, विकास साझेदार एवं संघ र प्रदेश सरकारसंग सहकार्यको लागी आव्हान गरिनेछ ।
९. गाउँपालिकाले वन, वातावरण, जैविक विविधता, परम्परागत अभ्यास प्रवर्धनका लागी वन ऐन तर्जुमा गरी लागु गरेको छ । सो ऐनको पूर्ण कार्यान्वयनमा यस सम्वद्ध सबैको सहकार्यको लागी आव्हान गरिनेछ ।
१०. राक्सिराङ्ग गाउँपालिका क्षेत्रमा भएको अपार सम्भावना तथा जोखिमको अवस्था वारे अध्ययन, अनुसन्धान गर्न हामी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुलाई अनुरोध गर्दछौं ।
११. वन वातावरण मैत्री विकासमा हाम्रो साझा प्रतिवद्धता छ । हरित उद्यम विकास, हरित निर्माण एवं हरित प्रविधि प्रवर्धन तर्फ हाम्रो प्रतिवद्धता व्यक्त गर्दै यस अभियानमा सहयोग गर्न हामी सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं ।
१२. गाउँपालिका वा वडा कार्यालयमा सबै सामुदायिक वनहरु दर्ता गर्नुपर्ने र तोकिएको जम्मा आम्दानीको १०% रकम गाउँपालिकाको आन्तरिक राजश्व खातामा जम्मा गर्नुपर्ने ।
१३. गाउँपालिका वा वडा कार्यालयको योजना तर्जुमा कार्यक्रममा सामुदायिक वनलाई अनिवार्य समावेश गराउनुपर्ने ।
१४. डिभिजन वन कार्यालय र राक्सिराङ्ग गाउँपालिका वाट उत्कृष्ट सामुदायिक वन सम्मान गर्नेछौँ ।
१५. गाउँपालिकामा रहेका सवै सामुदायिक वनहरुको लेखा परिक्षणको लागी गा. पा. ले पैरवीको भूमिका गर्ने ।
१६. संघिय, प्रदेश र स्थानिय तहको वन ऐन र नियमावलीमा तोकेको निति / नियम पालना नगर्ने समुहहरुलाइ कारबाही गर्ने ।
१७. सामुदायिक वन उपभोक्ता समुहहरुलाई प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउनेछौं ।
१८. सामुदायिक वन उपभोक्ता समुहहरुले विधान / कार्ययोजना पालना गरी तोकिएको समयमा सबै कार्य सप्पन्न गर्नेछौं
१९. डिभिजन वन कार्यालय, स्थानिय तह र सामुदायिक वन उपभोक्ता समुहहरु विच सुमधुर सम्बन्ध विस्तार गर्नेछौं ।
२०. समुहका विधान / कार्ययोजना नविकरण गर्दा मितव्यता अपनाउनेछौं र अनावश्यक खर्च घटाउनेछौं ।
२१. महिला सशक्तिकरणका लागी विभिन्न तालिम गोष्ठी संचालन गर्नेछौं ।